लोकसेवा आयोगको फारम भर्ने मिति १ साता थपियो, पौने २ लाखले दिए आवेदन



काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहको पदपुर्तीका लागि प्रकाशित गरेको विज्ञापनमा आवेदन दिने समय १ साता थप गरेको छ । आयोगको मंगलबार बसेको बैठकले फारम भर्नेको संख्या अत्यधिक बढेपछि असार १० गतेसम्म समय थप गर्ने निर्णय गरेको हो ।

आयोगले असार १७ गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिने समेत जानकारी दिएको छ । यस अघि असार ३ गतेसम्म फारम भर्ने समय दिइएको थियो ।
सुविदीले भने, ‘पछिल्ला ३ दिनमा आवेदन दिनेको चाप अत्यधिक भएकाले असार १० गतेसम्मका लागि आवेदन थप गरिएको हो ।’

आयोगले स्थानीय तहका विभिन्न ९ हजार पदमा विज्ञापन खुलाएको थियो । जसमा हालसम्म १ लाख ७२ हजार ४४४ जनाले आवेदन दिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले क्लिकमाण्डूलाई जानकारी दिए ।

अनलाइनबाट आवेदन दिनेका संख्या असार १, २ र ३ गते अत्यधिक बढेसँगै आयोगको अनलाइन प्रणालीमा समस्या देखिएको थियो ।

सुवेदीका अनुसार हालसम्म फारम भरेकामध्ये ६० हजारले शुल्क बुझाइसकेका छन् । जसबाट ३ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

उनले भने, ‘हालसम्म आवेदन दिने सबै आवेदकले शुल्क बुझाउँदा करिब ९ करोड रुपैयाँ राजस्व संकलन हुन्छ, त्यस्तै, फारम भर्ने म्याद थपिँदा यो संख्या अझ बढ्ने देखिएको छ ।’

स्थानीय तहको विज्ञापनमा समावेशिता नमिलेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिइसकेको छ ।

यसै विषयमा सर्वोच्च अदालतमा पक्ष र विपक्षमा गरी ४ वटा रिट दर्ता भएका छन् । ४ वटै रिटको सुनुवाई असार ४ गते बुधबार हुने भएको छ ।


क्लिकमान्डु