१५६ किलो सुन ल्याउने साहद्वयलाई ८३ करोड बिगो सहित मुद्दा दर्ता



काठमाडौं । १ सय ५६ किलो ६८७ ग्राम ३५० मिलिग्राम ग्राम सुन चोरी पैठारी गरेर ८३ करोड १० लाख ४७ हजार ७२० रुपैयाँ राजस्व चुहावट गर्ने दुई जना विरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको छ ।

विभागले रौतहटको गौर नगरपालिका पाँच वस्ने अनुकेश कुमार साह र विजयकुमार साह  विरुद्ध गत जेठ ३१ गते मुद्धा दर्ता गरेको हो ।

बैशाख २० गते अनुकेशकुमार शाहबाट ९९९ ग्राम ८२० मिलिग्राम सुन लु ४१ प ५८०३ नम्बरको मोटरसाइकलबाट प्रहरीले बरामद गरेको थियो ।
अनुकेशलाई ओप्पो ब्राण्डको मोबाइलमा एनसेलको सिम र कलर ब्राण्डको मोवाइलमा नेपाल टेलिकमको सिमसहित पक्राउ गरिएको थियो । सो मोबाइलको डाटा डाउनलोड गरेर हेर्दा १७५ थान सुनको कारोबार भएको पाइएको विभागले जनाएको छ ।

अनुकेशले विजयकुमारको छेमा माई ज्वेलर्समा उक्त सुन बिक्री गरी कारोबार गरेकोे विभागले जनाएको छ ।

विभागका अनुसार १५६ किलोग्राम ६८७ ग्राम, ३५० मिलि ग्राम सुनको ८२ करोड ५९ लाख ९० हजार ३१ रुपैयाँ र बरामदीत ९९९ ग्राम, ८२० मिलिग्राम सुनको ५० लाख ५७ हजार ६८९ रुपैयाँ सहित ८३ करोड १० लाख ४७ हजार ७२० रुपैयाँ अवैध रुपमा कारोबार भएको विभागले जनाएको छ ।


क्लिकमान्डु