८० प्रतिशत पूँजीगत खर्च गर्ने प्रदेश १ सरकारको दाबी

क्लिकमान्डु २०७६ असार २ गते १८:०३ मा प्रकाशित

बिराटनगर । चालु आर्थिक वर्ष भन्दा ७ अर्ब बढीको बजेट सार्वजनिक गरेको प्रदेश १ सरकारले आगामी वर्ष ८० प्रतिशत भन्दाबढी पूँजीगत खर्च गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन ।

मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री आङ्बोले चालु आर्थिक वर्षको प्रारम्भदेखि नै बजेट खर्च सुरु हुने बताए । प्रदेश सरकारसँग बजेट कार्यान्वयनकालागि न्युनतम कार्यालयहरु र थोरै भएपनि कर्मचारीको टिम रहेकोले बजेट कार्यान्वयन अगाडि बढाउन समस्या नरहेको उनले बताए ।

चालु आर्थिक वर्षमा पूँजीगत बजेट अपेक्षा गरेभन्दा कम खर्च हुँदा प्रदेश सरकारसँग झण्डै ६ अर्ब नगद मौज्दात रहेको थियो । त्यसलाई आगामी वर्षको योजनामा समायोजन गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीले चालु वर्षको झण्डै आधा समय बजेट खर्च हुन नसक्ने अवस्था रहँदा पनि अन्तिम सम्ममा ५० प्रतिशत बढी पूँजीगत खर्च हुने जिकिर गरे ।

आगामी आर्थिक वर्षकालागि पूर्वाधार विकासकालागि २० अर्व हाराहारीमा बजेट विनियोजन गरेको र पूर्वाधार विकासले उत्पादन, रोजगार, आर्थिक समृद्धिको आधार तयार पार्ने सरकारको विश्वास छ । प्रदेश योजना आयोगले विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न आगामी वर्ष ५५ अर्व बजेट आवश्यक पर्ने बताएको थियो ।

आन्तरिक स्रोतको न्युनता र योजना कार्यान्वयनकालागि आवश्यक संयन्त्रको पूर्णता नहुँदा सरकारले क्षमतामा आधारित भएर मात्र बजेट ल्याएको मन्त्री आङ्वोले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारकोे बजेट ल्याएको छ । चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ ।

बजेटको स्रोत मध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ भने चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने पूर्वानुमान छ । चालु आर्थिक वर्ष सकिन १ महिनामात्र बांकी रहदा प्रदेश १ को बजेट खर्च २९.४० प्रतिशत मात्र भएको छ ।

चालू आवका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा जेठसम्ममा जम्मा १० अर्ब ५१ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ ५ अर्ब १६ करोड ९३ लाख र चालूतर्फ ५ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारले चालूतर्फ ३०.७ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ २८.७५ प्रतिशत मात्र खर्च गरेको छ । सबैभन्दा धेरै बजेट विनियोजन गरिएको भौतिक पूर्वाधारमा १९.५३ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले कम्तिमा ६० प्रतिशत पुँजिगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स