बजेट खर्चमा सरकारको सुस्त चाल, ११ महिनामा विकास खर्च ५० % पनि पुगेन



काठमाडौं । चालु आर्थिक वर्षको बजेट खर्च तथा राजश्व संकलन हुन अब ३० दिन अर्थात एक महिना मात्रै बाँकी छ । सरकारले चालु आवको ११ महिनामा ७५.९९ प्रतिशत राजश्व संकलन गरेको छ । आगामी ३० दिनमा २४ प्रतिशत राजश्व संकलनका लागि सरकारलाई दबाब रहेको छ ।

सरकारले चालु अवमा ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । आइतबार (असार १ गते) सम्म आईपुग्दा सरकारले जम्मा ६ खर्ब ३१ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ । अझै १ खर्ब ९९ अर्ब ५६ करोड ९७ लाख रुपैयाँ राजश्व संकलन गर्न बाँकी रहेको छ ।

आइतबारसम्म ४८.२४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । चालु आवमा सरकारले ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ पुँजिगत खर्चका लागि विनियोजन गरेको थियो । आइतबार सम्ममा १ खर्ब ५२ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

आइतबारसम्म ७२.१६ प्रतिशत चालु खर्च भएको छ । चालु आवको लागि ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा ६ खर्ब १० अर्ब ५ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको छ ।

सरकारले चालु आवमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ । जसमा अहिलेसम्म ८ खर्ब २९ अर्ब ४ करोड २७ लाख रुपैयाँ अर्थात ६३.०४ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु आवमा पनि अघिल्ला वर्षहरुमा जस्तै बजेट खर्च सन्तोषजनक हुन सकेको छैन ।


क्लिकमान्डु