४ युवाले सुरु गरेको अर्ग्यानिक तरकारी बेच्ने बिजनेश, जसले काठमाडौंको पैसा गाउँमा पुर्यायो



काठमाडौं । अनलाइन सपिङ नेपाली बजारका लागि अब नौलो रहेन । मोबाइलबाट मन परेको सामान अर्डर गर्र्यो । टक्क घरमै सामान आइपुग्छ । त्यो पनि भनेकै समयमा ।

अनलाइनबाट कपडा, ग्याजेट, ग्रोसरीका सामानहरु अर्डर भएको त हामीले जाने बुझेकै हो । तर यही भीडमा अर्को अलि फरक अनलाइन सपिङ भित्रिएको छ ।

यो अनलाइन हो ‘ग्रिन ग्रोथ’ । अनलाइनको नाम जस्तै यसले हरियो र ताजा तरकारी बिक्री गर्छ । विषादिरहित तरकारी बोटबाट टपक्क टिपेर भान्सामै पुर्याउँछ । त्यो पनि भनेकै समयमा ।

अनि तपाईसँग लिएको पैसा गाउँका किसानसम्म पुर्याउँछ ।

अनलाइनबाट अर्गानिक तरकारी बिक्री गर्ने काम कुनै योजना बनाएर वा रणनीतिले कागजहरु रंगाएर सुरु भएको होइन । सुरुवात संयोगका रुपमा भएको हो भन्छन् संस्थापक सदस्य सौरभ ढकाल ।

यदि तपाईलाई पनि अर्गानिक तरकारी खान मन छ भने वेवसाइटमा रहेको फर्म भरे मात्रै पुग्छ । कम्पनीले आइतबार बिहान तपाईलाई फोन गर्छ । तपाईको अर्डर कन्फर्म गर्छ । र, सोही अनुसारको लिस्ट काभ्रेको पातली गाउँको फार्ममा पठाउँछ । फार्मबाट उसैदिन टिपेको ताजा तरकारी तपाईले सोमबार बिहान भान्सामा तरकारी पकाउन सक्नुहुन्छ ।

चार जना साथीहरु सौरभ ढकाल, समिता कपाली, निश्चल पोख्रेल र दीपिका ज्ञवाली मिलेर सुरु गरेको यो व्यवसाय अहिले सफलताको उचाइमा हरेक दिन लम्किरहेको छ । ५ लाख रुपैयाँ लगानीमा उनीहरुले व्यवसाय सुरु गरेका थिए ।

युवा जोशले सुरु गरेको यो व्यवसाय कसरी सुरु भयो भन्ने बुझ्न हामी झण्डै ५ वर्ष अगाडि सन् २०१४ को अन्त्यतिर फ्ल्यास ब्याकमा जानुपर्छ ।

तत्कालिन समयमा ‘स्टोरी साइकल’को कार्यक्रम लिएर उनीहरु हिमाली जिल्ला जुम्ला पुगेका थिए । त्यो कार्यक्रमको उद्देश्य थियो प्रविधिको प्रयोगमार्फत स्टोरी बनाउन सिकाउने र इन्टरनेटमा अपलोड गर्ने ।

जस्तो आफूसँग भएका स्टोरीहरुलाई मोबाइलबाटै तयार पार्ने अनि इन्टेरनेटको संसारमा छाडिदिने । यसले उक्त स्टोरीले भन्न खोजेको कुरा सबैमाझ पुर्याउँछ र व्यवसायिक लाभ लिन सकिन्छ भन्ने थियो ।

स्टोरी जे पनि हुन्थ्यो, पर्यटकीय क्षेत्र छ भने त्यसैबारे स्टोरी हुन सक्ने भयो । साथै खाद्यान्न राम्रो छ भने पनि उत्तिकै राम्रो स्टोरी हुने भयो । यही कुरा बुझाउँदै, सिकाउँदै उनीहरु देशका विभिन्न ठाउँमा हिँडिरहेका थिए ।

अहिले ग्रिन ग्रोथबाट प्रत्येक साता ५५० भन्दा बढी राजधानीका परिवारले अर्गानिक तरकारी खाइरहेका छन् । सुरुमा साताको २ दिनमात्रै डेलिभरी गर्नेमा अहिले कम्पनीले सातामा ३ दिन सोमबार, बुधबार र शनिबार डेलिभरी गरिरहेको छ ।

यसै सिलसिलामा उनीहरु जुम्लाको सिञ्जा उपत्यकामा यही तालिम दिन पुगेका थिए । जहाँ उनीहरुले स्टोरी बनाउने आइडिया सिकाए । तालिममा सहभागीहरुले त्यसको उपयोगिता खोज्दै बजारसँग कसरी जोडिन सकिन्छ भन्दै व्यवहारिक प्रश्न तालिमकर्ताप्रति तेर्साए ।

तालिम दिने प्रशिक्षकका नाताले उनीहरुले यसका लागि सक्दो सहयोग गर्ने बाचन दिए । अनि काठमाडौं फर्किए ।

काठमाडौं फर्किएको केही समयपछि जुम्लामा किसानहरु खाद्यान्न संकलन गर्नतर्फ लागेछन् । अनि एक दिन फोन गरेर भनेछन्, ‘सामान त तयार भयो, काठमाडौं ल्याउनु पर्यो ।’

तालिममात्रै दिँदै आएका साथीहरुलाई ती सामान आइसकपछि काम त गर्नै पर्यो । बचन जो दिइएको थियो ।

फेरि आफूले दिएको तालिमले जुन उद्देश्य लिएको थियो त्यो उद्देश्य त्यही काममार्फत् पूरा हुँदै थियो । अरुलाई सिकाउँदै हिँडेका उनीहरुलाई अब त्यही काम आफैले गर्नुपर्ने गरी आइलागेको थियो ।

जुम्लामा संकलन गरिएको २० क्लिन्टल सामान राजधानी ल्याइयो । जसमा मार्सी चामल, दाल, सिमीलगायतका खाद्यान्न थिए ।
सबै खाद्यान्नलाई कार्यालयकै स्टोरमा थन्काए । अनि फेसबुकमा सूचना पोस्ट गरे ।

फेसबुकमा विस्तारै रेस्पोन्स आउन थाल्यो । उनीहरु खुसी नभन्दै केही दिनमा सबै खाद्यान्न सकियो । त्यसपछि उनीहरुले ग्रिन ग्रोथका नाममा फेसबुक पेज बनाए र व्यवसायिक रुपमा काम सुरु गरे ।

यो क्रम सन् २०१६ सम्म चलिरह्यो । सामानहरु आउँथ्यो, यसैगरी ग्राहक अफिसमै आउँथे अनि सामान लैजान्थे ।

ग्राहकहरु कार्यालयमै पुगेर सामान लिन जानुको कारण थियो । अर्गानिक तरकारी ।

शहरिया विषादियुक्त खाद्यान्नबाट वाक्क भएका उपभोक्ताहरु अर्गानिक तरकारीमा लोभिए । उपभोक्ता विस्तारै बढ्दै जाँदा र उनीहरुको रुचि अर्गानिक खेतिमा देखिँदा आफै पनि व्यवसायतर्फ लोभिए । करिअरका हिसाबले राम्रो अवसर देखे र व्यवसायिक रुपमा नै यसमा लाग्ने निर्णय गरे ।

कम्पनीले हालैका दिनदेखि सातामा ३ दिन ‘हाटबजार’ पनि सुरु गर्ने योजना बनाएको छ । सुरुमा नयाँ बानेश्वरबाट हाटबजार सुरु गर्ने योजना रहेको ढकालले सुनाए ।

अहिले ग्रिन ग्रोथबाट प्रत्येक साता ५५० भन्दा बढी राजधानीका परिवारले अर्गानिक तरकारी खाइरहेका छन् । सुरुमा साताको २ दिनमात्रै डेलिभरी गर्नेमा अहिले कम्पनीले सातामा ३ दिन सोमबार, बुधबार र शनिबार डेलिभरी गरिरहेको छ ।

यदि तपाईलाई पनि अर्गानिक तरकारी खान मन छ भने वेवसाइटमा रहेको फर्म भरे मात्रै पुग्छ । कम्पनीले आइतबार बिहान तपाईलाई फोन गर्छ ।

तपाईको अर्डर कन्फर्म गर्छ । र, सोही अनुसारको लिस्ट काभ्रेको पातली गाउँको फार्ममा पठाउँछ । फार्मबाट उसैदिन टिपेको ताजा तरकारी तपाईले सोमबार बिहान भान्सामा तरकारी पकाउन सक्नुहुन्छ ।

ग्रिन ग्रोथले अहिले २० वटा फार्मबाट तरकारी संकलन गरिरहेको छ । ग्रिन ग्रोथले किसानसँग तरकारी मात्रै खरिद गर्दैन उनीहरुको व्यवसायमा ‘भ्यालू एड’ गर्नका लागि त्यही फार्म स्टेको कन्सेप्ट पनि ल्याएको छ ।

जस्तै, तरिकारी उत्पादन भइरहेको फार्मसँगै अतिथिहरु बस्नका लागि बास र रेष्टुराँ खोल्ने । यसो गर्दा बाहिरबाट जाने पर्यटकहरु बस्न पाउने भए । तरकारी कसरी उत्पादन भइरहेको छ हरेक जानकारी लिन पाउने भए । यसले किसानको आम्दानी बढाउने भयो भने उपभोक्ताले पनि सीधै फार्म मै गएर बस्न पाउने भए ।

कम्पनीले डेलिभरी चार्जवापत ५० रुपैयाँ मात्रै राखेको छ ।

कम्पनीमा ४ जना संस्थापक सदस्य छन् । सबैका आ-आफ्नै जिम्मेवारी तोकिएको छ । पहिले टेलिभिजन पत्रकारिता समेत गरिसकेका सौरभ ढकालले कहाँबाट तरकारी ल्याउने ? कसरी छनोट गर्ने ? कुन गुणस्तरको ल्याउने ? जस्ता कुरासँगै फार्म र किसानसँगै पुगेर डिल गर्छन भने समिता कपालीले बजार व्यवस्थापनको जिम्मेवारी सम्हाल्छिन् ।

एबीए सकाएकी दीपिका ज्ञवाली सबै अकाउन्ट र फाइनान्सको जिम्मेवारी सम्हाल्छिन भने निश्चल पोख्रेलले सबै सञ्चालन हेर्छन् ।

कम्पनीले हालैका दिनदेखि सातामा ३ दिन ‘हाटबजार’ पनि सुरु गर्ने योजना बनाएको छ । सुरुमा नयाँ बानेश्वरबाट हाटबजार सुरु गर्ने योजना रहेको ढकालले सुनाए ।


कमलकुमार बस्नेत