टेलिकमले तराइका १७ जिल्लामा थप्यो २६० टावर



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ११ महिनामा तराईका १७ जिल्लामा मात्रै २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ । टेलिकमले मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरी लगायत जिल्लामा बीटीएसहरु सञ्चालनमा ल्याएको जनाएको छ ।

टेलिकमले मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका लागि तराई तथा मधेश क्षेत्रमा मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिएको जनाएको छ । टावर निर्माणसँगै ती क्षेत्रका ग्रामीण वस्तीका बासिन्दालाई सस्तो दरमा नेपाल तथा विदेशमा भएका आफन्तसँग कुराकानी गर्न र अन्य सुविधा लिन सहज भएको टेलिकमको बुझाई छ ।

तराईका अधिकांश जिल्लामा कम्पनीका सेवा उपलब्ध भए तापनि दुर्गम र कम जनघनत्व भएका कतिपय वस्तीमा सेवाको पहुँच स्थापित नभएको टेलिकमले जनाएको छ ।
जतिसुकै दुर्गम र विकट स्थानमा रहेका भएपनि सबै नेपालीबीच कम्पनीको सेवा पु¥याई अत्याधुनिक सञ्चार सुविधा प्रदान गर्ने लक्ष्य बमोजिम ती स्थानमा टुजी र थ्रीजी बीटीएस स्थापना गरी सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको एक करोड जीएसएम आयोजना अन्तर्गत ‘प्याकेज ए’ को कार्य लगभग सम्पन्न हुने क्रममा छ । प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजना अन्तर्गत काठमाडौं उपत्यकाबाहेक मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बीटीएस टावर स्थापना गर्ने कार्य जारी रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको एक करोड जीएसएम आयोजनाका दुई प्याकेजमध्ये प्याकेज बी अन्तर्गत काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य पहिले नै शतप्रतिशत सम्पन्न भइसकेको छ । मुलुकका सातै प्रदेशमा फोरजी–एलटीई सेवा विस्तार गर्ने कार्य पनि दु्रत गतिका साथ भइरहेकोे छ । अत्याधुनिक प्रविधिहरु उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त पार्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु