असारमा जापान जाने यात्रु नपाएपछि नेपाल एयरलायन्सले भदौका लागि तयारी सुरु गर्यो



काठमाडौं । यात्रु नभएपछि असार महिनामा नेपाल एयरलायन्स जापानको ओसाकाका लागि तय गरिएको उडान अब भदौको दोस्रो सातासम्मका लागि तय गर्ने भएको छ ।

जापानको ओसाकामा व्यवसायिक उडान भर्नका लागि बुकिङ खुला गरे पनि बुकिङ अत्यन्तै न्यून भएकाले असार १९ गतेको तालिका स्थगित गरेको थियो ।

नेपाल एयरलायन्सका प्रवक्ता नवराज कोइरालाले भने, ‘बुकिङ अत्यन्तै कम आएकाले उडान भर्न सकेनौ, अब भदौको दोस्रो साताका लागि तयारी गर्दै छौं ।’

जुन र जुलाइ महिना जापानका लागि अफ सिजन भएकाले यात्रु नपाइएको उनको भनाइ छ । एयरलायन्सले जापानका लागि ४५ हजार रुपैयाँमा एकतर्फी भाढा दर कायम गरेको थियो ।

२७४ सिट क्षमता भएको वाइड बडी जेट जहाजले यात्रु नपाउँदा अत्यन्तै घाटा हुने भएकाले उडान तालिका पर धकल्ने निर्णय गरेको थियो । कोइरालाका अनुसार सेप्टेम्बर र नोभेम्बर महिना जापान उडानका लागि सिजन भएकाले त्यसैलाई लक्षित गरी अगस्टको अन्तिमबाट उडान सुरु गर्ने योजना बनाएको हो ।

दशैं र तिहार जस्ता ठूला पर्वको अवसरमा नेपाल आउने संख्या बढ्ने तथा उक्त समयमा पर्यटकको संख्या पनि अत्यधिक वृद्धि हुने भएकाले सो समय उपयुक्त हुन सक्ने एयरलायन्सको विश्वास छ ।

‘हामीले अप्रिल महिनाबाटै उडान गर्ने योजना बनाएका थियौ, तर स्वीकृति नै ढिला आयो’ कोइरालाले भने ।

नेपाल एयरलायन्सले यस अगाडि सन् १९९३ मा जापानमा व्यवसायिक उडान भर्दै आएको थियो । तर तत्कालिन समयमा जहाजका अभावमा उक्त रुट बन्द गर्नु परेको थियो ।


क्लिकमान्डु