पाकिस्तानले भारतमाथिको हवाई नाकाबन्दी हटाउँदा नेपाल एयरलाइन्सको टिकट सस्तो



काठमाडौं । पाकिस्तानले आफ्नो हवाइ क्षेत्र प्रयोगमा प्रतिबन्ध गरेपछि युएइ र ओमान जाने रुट परिवर्तन गरेको नेपाल एयरलायन्सको जहाजले अब पुरानै रुट प्रयोग गर्न पाउने भएको छ ।

गत फेब्रुअरीमा भारत र पाकिस्तानबीचको तनावबाट पाकिस्तानले भारतीय आकाश प्रयोग गरेर पाकिस्तान आउने सम्पूर्ण अन्तर्राष्ट्रिय विमानलाई आफ्नो आकाश प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

पाकिस्तानले आजदेखि लागू हुने गरेर अन्तर्राष्ट्रिय विमानमा लगाउँदै आएको प्रतिबन्ध हटाएसँगै नेपाल एयरलायन्सले पनि पाकिस्तानको रुट प्रयोग गर्न पाउने सम्भावना बढेको हो ।

पाकिस्तानले आफ्नो हवाइ क्षेत्रमा प्रतिबन्ध लगाएसँगै काठमाडौंबाट दुबई, दोहा र ओमान जाने नेपाल एयरलायन्सको जहाज नयाँ रुटबाट लैजान बाध्य थियो ।

पाकिस्तानको बाटो प्रयोग गरेरहेको नेपाल एयरलायन्सको नयाँ रुट प्रयोग गरेको थियो । जसले गर्दा विमानको लागत खर्च पनि महंगो भएको थियो ।

‘आजसम्म पनि प्रतिबन्ध त खुलेको छैन्, नयाँ रुट परिवर्तन गर्दा लागत बढेको छ’ नेपाल एयरलायन्सका प्रवक्ता नवराज कोइरालाले क्लिकमाण्डूसँग भने ।
कोइरालाका अनुसार रुट परिवर्तन गर्दा ४ देखि ५ टन इन्धन खपत भइरहेको छ । रुट परिवर्तन गर्दा २ देखि साढे २ टन इन्धन बढी खपत हुँदै आएको थियो । रुट परिवर्तन गरेसँगै नियमित उडानमा २५ मिनेट समय लम्बिएको थियो ।

जसको सोझो मार यात्रुको टिकट खर्चमा देखिएको थियो । रुट परिवर्तन गरेसँगै एयरलायन्सले सस्तो दरका टिकट बिक्री रोकेको थियो । भने यात्रुले महंगो दरको टिकट मात्रै खरिद गर्न बाध्य थिए ।

पाकिस्तानले भारतीय विमानमा लगाएको प्रतिबन्ध हटाएसँगै नेपाल एयरलायन्सले पनि अब पाकिस्तानी आकाश प्रयोग गरी दुबई, दोहा र ओमान जान पाउनेछ भने खर्च कम हुनेछ । जसले गर्दा यात्रुले पनि सस्तो दरका टिकटहरु पाउनेछन् ।
खाडी देशका एयरलाइन्सले समेत नेपाल उडान गर्दा पाकिस्तानको हवाई रुट प्रयोग गर्न पाएका थिएनन् । नेपाली एयरलाइन्ससँगै खाडी देशका एयरलाइन्सको समेत उडान खर्च महंगो भएको थियो ।

खासगरी भारतीय विमानहरुलाई प्रतिबन्ध लगाउँदा यसको सोझो मार नेपाल एयरलायन्सलाई समेत परेको थियो ।

पाकिस्तानले आफ्नो हवाइ क्षेत्रमा लगाएको प्रतिबन्ध हटाएपछि पहिलो पटक सोमबार राति पहिलो पटक भारतीय विमान पाकिस्तान आकाश प्रयोग गर्दै दिल्लीमा उत्रिएको थियो ।

पाकिस्तानले भारतको अहमदाबादको नजिक टेलेम इन्ट्रि प्वाइन्टमा गत सोमबार राति आफ्नो तर्फबाट बाटो खुला गरिदिएको थियो । दुबइबाट दिल्लीको बीच उडान भर्ने इन्डिगो एयरलाइन्सले उक्त बाटो प्रयोग गरेको थियो ।

एयरलाइन्सले सुरक्षित अवतरण गर्ने वित्तिकै एयरलाइन्सलाई एउटा फोन आएको थियो । फोन पाकिस्तान सिभिल एभिएसन अथ्योरिटीका निर्देशकले गरेका थिए । उनले इन्डिगोका ड्युटी अफिसरलाई भनेका थिए, ‘महाशय तपाई अहिलेसम्म जागै हुनुहुन्छ, म फ्लाइट मोनिटरिङ गर्छु, विमान सफलतापूर्वक ल्याण्ड भइसकेको छ तपाईलाई दिएको बचन पूरा भयो, इद मुबारक ।’

भारत पाकिस्तान बीच तनाव उत्पन्न भएपछि पाकिस्तानले आफ्नो हवाइ क्षेत्रमा अन्तर्राष्ट्रिय विमानलाई सीमा क्षेत्र प्रवेशमा २७ फेब्रुअरीदेखि रोक लगाएको थियो ।


क्लिकमान्डु