नेपाल लाइफ इन्स्याेरेन्सले ल्यायाे सदावहार जीवन बीमा योजना, यस्ता छन विशेषता




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबारदेखि ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच उक्त बीमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीले केही महिनाअघि घातक रोग सुविधा योजना ल्याएको थियो ।

आजको कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाई यस योजनाबारे थप प्रष्ट्याउँदै भने। ‘आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरी जिन्दगीभर ढुक्क रहन चाहन्छन् । सेवाग्राहीहरूको यही चाहनाअनुसारको बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ ल्याएको हो ।’

उनका अनुसार यो योजनामा प्रत्येक वर्ष बीमांकको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुनेछ । साथै, आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्न, यस योजनाको मुख्य विशेषता हो ।

कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ ।

यो बीमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिक्तम उनेर ६५ वर्ष तोकिएको छ । साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ । यसमा दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ ।

बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिक्तम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष । त्यस्तै, बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ ।

बीमालेख चालू भएको अवस्थामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखअन्तर्गत पूरा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले बताएको छ ।

एकल बीमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ । साथै सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्तिपश्चात् जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बीमाङ्कबराबरको रकम प्रदान गरिनेछ ।

९० प्रतिशतसम्म कर्जाको सुविधा

यस योजनामा बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बीमाशुल्क भुक्तानी गरेपश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ । साथै, एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

करिब ३२ प्रतिशत बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार ८ सय १० रहेको छ भने लगानी रू. ६७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ ।

१ लाख २२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

विगत १८ वर्षदेखि सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु