बचतकर्ताको लगानी डुबाएपछि सिभिल ग्रुपका अध्यक्ष इच्छाराजले सहकारीसँग ऋण मागे (भिडियाे)



काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल बचत तथा ऋण सहकारी संस्था डुब्ने अवस्थामा पुगेकाले अन्य सहकारी संस्थाहरुलाई बचत गरेर सहयोग गर्न अपिल गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा उनले भने ‘बैंकमा इन्टर बैंक बरोइङ गर्न मिल्छ, नयाँ सहकारी ऐनमा पनि इन्टर को–अपरेटिभ बरोइङ गर्न मिल्ने व्यवस्था छ । त्यसैले तपाईहरुमध्ये इच्छुक सहकारी संस्थाहरुले हामीलाई आर्थिक रुपमा, बचत गरेर, लगानी गरेर सहयोग गरिदिनुहोस ।’

उनले अन्य सहकारी संस्थाहरुले बचत गरेर, इन्टर को–अपरेटिभ बरोइङको माध्यमबाट सहयोग गरेको खण्डमा आफूलाई काम गर्न उर्जा मिल्ने बताए ।

उनले सहकारीको विषयमा आएका विभिन्न समाचारका कारण संस्थाबाट सदस्यहरुले बचत झिक्लान की भन्ने तनाबमा रहेको बताए ।

यतिबेला सहकारीमा तरलता अभाव हुने हो की भन्ने चिन्तामा पनि आफूहरु रहेको उनले बताए ।

उनले भने ‘अहिले हाम्रो संस्थामा रहेका सदस्यहरु आएर एकै पटक पैसा निकाल्न थाले भने तरलता अभाव हुनेछ, यसका लागि हामीले व्यवस्थापन गरिरहेका छौं ।’

सहकारीका सदस्यलाई हाम्रो वास्तविकता बुझाउँदै आएको र सहकारीको विषयमा बाहिर आएको कुराले विगत एक वर्षदेखि निकै तनाव भएको उनले बताए ।

सहकारीले दिएको ऋणमध्ये ८० प्रतिशत सिभिल ग्रुपले विभिन्न प्रोजेक्टमा लगानी गरेको छ ।  आगामी दिनमा आईटी, होटल, जलविद्युत कम्पनीमा लगानी गर्ने सोच बनाएको बताए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नवराज अधिकारीले आगामी ३ वर्षभित्रमा कृतिम सदस्यलाई बन्द गरेर प्राकृतिक व्यक्तिलाई मात्रै सदस्य बनाउन सुझाव दिए ।

सहकारीले एकै क्षेत्रमा ८० प्रतिशत लगानी गरेकोले आगामी दिनमा बचतकर्ताको विश्वास गुमेको खण्डमा आईपर्ने समस्याको विषयमा पहिले नै सचेत बन्न आग्रह गरेका छन् ।

अहिले सहकारी संस्था ३, ४ नम्बरको गियरमा चल्न खोज्दा समस्या हुने भएकाले आगामी दिनमा गियरलाई सन्तुलन गरेर लैजान आग्रह गरे ।

सहकारी संस्था तरलताभन्दाबढी नेटवर्थ कमजोर भएकोले डुब्न सक्ने भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे । उनले ओरियन्टल सहकारीको भूत नउत्रदाँ नै सिभिलमा त्यस्तो समस्या नदोहोर्याउन आग्रह गरे । सहकारी पनि बैंक तथा वित्तीय संस्था जस्तै ढंगले चलेको देखिएकोले आगामी दिनमा सहकारीलाई सहकारीको मोडलमा चलाउन पनि सुझाव दिएका छन् । कार्यक्रममा उपस्थित अन्य सहकारीका अधिकारीहरुले सिभिल पनि ओरियन्टल होला की भन्ने आशंका उब्जेको बताए ।


क्लिकमान्डु