दोस्रो अन्नपूर्ण म्याराथन प्रतियोगितामा खगेन्द्र बहादुर भाट बने प्रथम
काठमाडौ । ‘टुरिजम फर अल सिजन’ भन्ने नाराका साथ दोस्रो अन्नपूर्ण म्याराथन सम्पन्न भएको छ ।
सोमबार ४२ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरुवात भएर माछापुच्छ्रे आधारशिविर हुँदै वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै १६ सय उचाइमा रहेको घान्द्रुकमा पुगेर समापन भएको छ ।
आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा अन्नपूर्ण काठमाडौ समाजले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा डोटीका जर्सी नम्बर ३३ का खगेन्द्र बहादुर भाट प्रथम भएका छन् । त्यस्तै जर्सी नं ६ का हरी रिमाल दोस्रो, जर्सी नं ११ का गोपाल तामाङ तेस्रो र जर्सी नं ३८ का सचिन गुरुङ चौथो भएका छन् ।
विजेताले १ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन भने क्रमशः दोस्रो हुनेले ७५ हजार, तेस्रोले ५५ हजार, चौथोले ११ हजार, पाँचौंले १० हजार, छैटौंले ९ हजार र सातौंले ८ हजार, आठौंले ७, नवौंले ६ र दशौँले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । बिजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले नगद, सिल्ड कप तथा प्रमाणपत्रबाट सम्मान गरेका थिए ।
कार्यक्रममा मन्त्री बिश्वकर्माले म्याराथन पर्यटन प्रवद्र्धन गर्नका लागि महत्वपूर्ण रहेको भन्दै खेलकुद क्षेत्रको विकासमा मन्त्रालयले गर्नुपर्ने काम सशक्त ढंगले निर्वाह गर्ने बताए ।
म्याराथन आयोजना कमिटीका संयोजक ऋषिराम भण्डारीले स्थानिय स्तरमा पर्यटन विकास गर्न म्याराथन आयोजना गरिएको बताउँदै बिदेशीहरुको समेत सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पर्यटन प्रवद्र्धन भएको बताए ।
उनले आगामी दिनमा घान्दु्रकका स्थानियको समेत सहभागितामा अझ बृहत कार्यक्रम आयोजना गरिने बताए । कार्यक्रममा ५६ जना देशी तथा बिदेशी धावकको सहभागिता रहेको थियो