राजधानीमा तीन दिने हिमालयन ट्राभल मार्ट आयोजना हुँदै, ४३ देशका ७०० सहभागी हुने



काठमाडौं । राजधानीको सोल्टी होटलमा आगामी जुन ६ देखि ८ तारिखसम्म हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने ससक्त ब्राण्डका रुपमा विकसित हँुदै आएको यो मार्ट तेस्रो संस्करण हो ।

सन २०१७ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको मार्टले नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्व सामू स्थापित गर्ने अपेक्षा गरिएको छ ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले मार्टको आयोजना गर्ने लागेको हो ।

मार्टको यस अघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको छ ।

‘हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको देखिन्छ’ पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले भने ।

हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको छ । यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रर्वद्धन तथा व्यवसायीहरुका बीच सञ्चाल विस्तार गर्न सहयोग पुगेको छ ।

हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वव्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरिएको हो ।

यसपटक बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरु सहभागी हुनेछन् ।

मार्टमा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल भल्गर्स तथा मिडिया प्रतिनिधी सहभागी हुनेछन् । समग्रमा नेपाल सहीत ४३ देशका करिब ७०० जनाले मार्टमा सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० लाई पनि प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । भ्रमण वर्षलाई सफल बनाउन मार्टको तेस्रो दिन ८ तारिख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भल्गर्स तथा मिडियालाई नेपालका पर्यटकीय गन्तब्यबारे ब्रिफिङ गरिने छ ।

मार्टमा पनि कूल अनुमानित बजेटको करिब ७५ प्रतिशत खर्च निजी क्षेत्रको सहकार्य, प्रायोजन तथा सौजन्यबाट गरिनेछ ।

मार्टमा अफिसियल होटल तथा इभेन्ट भेन्यूको रुपमा सोल्टी क्राउन प्लाजा तथा अन्तर्राष्ट्रिय एयरलाईन्स् तर्फ कतार एयरवेज, एयरअरेबीया, डुक एयर र हिमालय एरलायन्स तथा आन्तरिकतर्फ बुद्ध र यती एयरलान्स छन् ।

यसैगरी काठमाडौं मेरियट होटल तथा होटल आकामाले मार्टमा सहभागी प्रतिनिधिहरुका लागि रात्रीभोजको प्रायोजन गर्नेछ ।

शिखर इन्सुरेन्स (प्रमियम पार्टनर) र नेपाल इन्भेष्टमेन्ट बैंक (इभेन्ट पार्टनर), सिबेक हस्पिटलले हेल्थ पार्टनर छन् ।

त्यस्तै, एनसेलले कम्युनिकेसन पार्टनर छ भने काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीका होटलहरुले निशूल्क अधिकाशंशले आवास तथा भोजन उपलब्ध गराउनेछन् ।

मार्टमा सहभागी विदेशी पाहुना तथा प्रतिनिधीलाई नाराले ¥याफ्टिङमा सहयोग पुर्याएको छ, भने रेवानले उल्लेख्य कुपन उपलब्ध गराएको छ ।


क्लिकमान्डु