सस्तो भयो दुर्घटना र स्वास्थ्य बीमा



काठमाडौं । दुर्घटना र स्वास्थ बीमा सस्तो भएको छ । सरकारले बजेटमार्फत् प्रिमियममा लाग्दै आएको १३ प्रतिशत भ्याट हटाएपछि स्वास्थ्य र दुर्घटना बीमा सस्तो भएको हो ।

सरकारको यो नीतिले बीमा क्षेत्रको दायरा फराकिलो बनाउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘यो व्यवस्था लागुभएसँगै दुर्घटना र स्वास्थ्य बीमाको दायरा बढ्छ, दुर्घटना बीमा गर्नेको संख्या पनि बढ्छ,’ पौडेलले भने ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७  बजेटमा ‘दुर्घटना तथा स्वास्थ्य बीमामा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेको’ घोषणा गरेका छन् ।

प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्न उपाध्यायले बजेटमा भएको दुर्घटना तथा स्वास्थ्य बीमामा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था स्वागतयोग्य भएको बताए ।

‘अब सरकारले पनि बीमा क्षेत्रलाई हेर्ने दायरा फराकिलो बनाएको छ,’ उापाध्यायले भने, ‘सरकारको यो नीतिले बीमा क्षेत्रको बजार विस्तार हुन्छ ।’

त्यसैगरी, आइएमइ जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतद्वय युगेशभक्त बादे श्रेष्ठ र सुनिल बल्लभ पन्त पनि सरकारको यो नीतिले बीमाको दायरा बढाउने बताउँछन् ।

‘हामीले पहिलेदेखि नै यस्तो व्यवस्था गर्न माग गर्द आएका थियौं,’ श्रेष्ठले भने ।

बीमाको पहुँच विस्तार गर्ने योजनाअनुरुप सरकारले यस्तो नीति लिएको पन्तको भनाई छ ।

‘भ्याट नलाग्ने भएपछि लागत १३ प्रतिशतले सस्तो हुन्छ, लागत सस्तो भएपछि बीमा गराउनेहरुको संख्या बढ्छ,’ पन्तले भने ।

स्थास्थ्य तथा दुर्घटना गराउनेको हिस्सा बढीमा ५ प्रतिशत हुनसक्ने उनको अनुमान छ ।

खासगरी बैंकहरुले आफ्ना खातावालको पनि दुर्घटना बीमा गर्न थालेकाले यो संख्या बढेको हो । बीमाको कार्यालयमै आएर स्वास्थ्य र दुर्घटना बीमा गराउनेहरुको संख्या भने अत्यन्तै कम छ ।


क्लिकमान्डु