सांसद यादवले अर्थमन्त्रीसँग सोधे- गरिबले खाने खानामा किन कर लगाउनु भयो, कसले दिन्छ सल्लाह ?



काठमाडौं । सांसद प्रदीप यादवले अर्थमन्त्री डा. युवराज खतिवडालाई बजेट बनाउने समयमा कसले सल्लाह दिएको भन्दै प्रश्न गरेका छन् ।

बजेटका विषयमा आयोजित छलफलका क्रममा उनले भने ‘तपाई आफै विद्वान हुनुहुन्छ, तपाईलाई कसले सल्लाह दिएर गरिब जनताले खाने खानामा कर लगाउनु भयो ?’

उनले वर्तमान सरकारले आगामी आवका लागि ल्याएको बजेट मिश्रित प्रतिक्रिया दिँदै भने, ‘बजेटमा कतिपय राम्रा योजना पनि छन, अलिकति चटपटे छ, संघीयता विरोधी र गरिब जनताको अहितमा पनि छ ।’

यादवले गरिब निमुखा जनताले खाने आँटामा लगाएको भ्याट तत्काल हटाउन आग्रह गरेका छन् । उनले संसदमा बोल्ने क्रममा आँटाका साथै स्वयाबिन मस्यौरा पनि धनीले नभएर गरिब निमुखा जनताले खाने भएकोले त्यसमा लगाएको कर तत्काल हटाउन आग्रह गरेका छन् ।

सांसद यादवले अर्थमन्त्री डा. खतिवडाले ल्याएको बजेट संघीयत विरोध भएको र प्रदेशलाई बेवस्था गरेको आरोप लगाए । आगामी आवको बजेटले प्रदेशलाई बाइपास गरेको उनको तर्क छ ।

आगामी आवको बजेटमा प्रदेशलाई ९२ अर्ब दिएको र उक्त बजेटले स्थानीय तह चल्ने नसक्ने यादवको भनाइ छ । सांसद यादवले उक्त बजेट संशोधन गर्न समेत आग्रह गरेका छन् ।

उनले दुई नम्बर प्रदेशलाई त अर्थमन्त्रीले पूर्णरुपमा सौतेलो व्यवहार गरेको तर्क गरेका छन् । उनले भने ‘चालु आवको बजेटमा प्रदेशलाई १७ अर्ब बजेट दिएकोमा आगामी आवका लागि ३ अर्ब घटाएर १४ अर्ब दिनु भएको छ, उक्त बजेटले दुई नम्बर प्रदेश चल्छ, तपाईले किन दुई नम्बरलाई सौतेलो व्यवहार गर्नु भयो ?’

यादवले दुई नम्बर प्रदेश चल्नका लागि ३० देखि ४० अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने बताए । त्यति बजेट विनियोजन गरेको खण्डमा दुई नम्बर प्रदेशको विकास हुने उनको तर्क छ । निजगढ विमानस्थलमा बजेट नदिएको चिन्ता जनाएका छन् ।


क्लिकमान्डु