हुवावेका सिइओले भने – चीनले एप्पलमाथि प्रतिबन्ध लगायो भने विरोध गर्छु



अमेरिकाले चीनको टेलिकम कम्पनी हुवावेलाई कालोसूचीमा राखेपनि हुवावेका संस्थापक तथा सिइओ रेन झेंफे भने चीनले अमेरिकन कम्पनी एप्पलमाथि प्रतिबन्ध लगाए आफूले त्यसको विरोध गर्ने बताएका छन् ।

एप्पल विश्वको ठूलो कम्पनी हुनुका साथै आफ्नो पनि प्रेरणाको स्रोत भएकाले आफूले धेरै कुरा सिकेको र चीनले एप्पलमाथि कुनै पनि प्रकारको रोक लगाएको खण्डमा आफू विरोधमा उत्रने एक अन्तरवार्तामा बताएका छन् ।

गत साता अमेरिका र चीनबीचको व्यापार युद्धको असर हुवावे र गुगलमा परेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले हुवावेलाई कालोसूचीमा राखेको थियो ।

परिणाम अमेरिकी कम्पनी गुगलले हुवावेसँग भएको व्यापार सम्झौता स्थगित गरेको थियो । जसका कारण गुगलको सफट्वेयर हुवावेले प्रयोग गर्न नपाउने भएको थियो ।

गुगलसँग सम्बन्धित जिमेल, युट्युव तथा प्लेस्टोर प्रयोग गर्न नपाउने भएसँगै विश्वको मोबाइल बजारमा हुवावेको भविष्य माथि प्रश्न उब्जिएको थियो । तर हुवावेले यो रोक यथावत रहेमा आफ्नै अपरेटिङ सिस्टम बनाउने बताइसकेको छ ।

विश्लेषकहरुले हुवावेलाई अमेरिकाले प्रतिबन्ध लगाएसँगै त्यसैको रिसमा चीनले पनि एप्पललाई चीनमा प्रतिबन्ध लगाउन सक्ने सम्भावनामा आँकलन गरेका थिए । चीनमा हुवावेको प्रयोगकर्ता बढ्दै जाँदा एप्पलका प्रयोगकर्ताको संख्या कम हुँदै गएको छ ।

तथ्यांक अनुसार सन् २०१७ मा चीनमा ९ प्रतिशत प्रयोगकर्ताले एप्पल चलाउँदै भने त्यो संख्या कम भएर सन् २०१८ मा आइपुग्दा ७ प्रतिशत झरेको थियो । चीनमा हुवावेले सन् २०१९ को पहिलो तीन महिनामा ३ करोड फोन बिक्री गरिसकेको छ । यो गत वर्षको तुलनामा ४१ प्रतिशतले बढी हो । सोही अवधिमा एप्पलको आइफोनको बिक्री ३० प्रतिशतले घटेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेका उपकरणका माध्यमबाट चीनले जासुसी गरिरहेको शंकाका आधारमा प्रतिबन्ध लगाएका थिए ।


क्लिकमान्डु