अर्थमन्त्रीले बजेट भाषण गरेको पैसा पाउँछन् कि पाउँदैनन् ?



काठमाडौं । केहीदिन अघि एक साथीले सोधे- अर्थमन्त्रीले संसदमा बजेट भाषण गरेको पैसा पाउँछन् कि पाउँदैनन् ?

मैले जवाफ दिएँ- अहँ पाउँदैनन् ।

ती साथीले मेरो कुरा पत्याएनन् । र, जिकीर गरे- ‘लाखौं पाउँछन् । पत्रकार भएर पनि यत्ति कुरा थाहा नपाउने ?’

मलाई अहिलेसम्म अर्थमन्त्रीले बजेट भाषण गरेको पैसा अर्थमन्त्रीले पाउँछन् भन्ने लागेकै थिएन । तर, ती साथीले जिकीर गरेपछि मलाई अझ बढी क्लियर हुने हुटहुटी भयो ।

र, पहिलो सम्पर्क गरेँ- पूर्वअर्थमनन्त्री शंकर कोइरालालाई ।

खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकारका अर्थमन्त्री हुन् कोइराला । उनले आर्थिक वर्ष ०७०/०७१ मा ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

मेरो प्रश्न सुन्नेवित्तिकै मुसुक्क हाँसेर कोइरालाले जवाफ दिए- ‘त्यो निराधार हल्ला मात्रै हो । सत्य भएको भए त मैले पनि पाउँथे होला नि ।’

आफूले पनि यस्तो हल्ला सुनेको उनले बताए । यो हल्ला मैले पनि सुनेको थिएँ । तर, अहिलेसम्म नेपालका कुनैपनि अर्थमन्त्रीले बजेट भाषण गरेको पैसा पाएको मेरो जानकारीमा छैन ।

कोइरालाको जवाफले मलाई क्लियर बनायो । तैपनि मैले फेरि अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई यही प्रश्न गरेँ ।

प्रश्न भुईंमा खस्न नपाउँदै पाण्डेले जवाफ दिए- यो निराधार हल्ला हो । यस्तो हल्लाका पछि नलाग्नुस् ।’

त्यसपछि फेरि यही प्रश्न नेपालको इतिहासमै सबैभन्दा बढी बजेट ल्याएका पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई सोधेँ ।

डा. महतले पनि यो हल्ला मात्रै भएको जवाफ दिए ।

मलाई पत्रकारहरुले पनि धेरैपटक तपाईंको जस्तै प्रश्न गर्नुभयो- अर्थमन्त्रीले बजेट भाषण् गरेको पैसा पाउँछन् कि पाउँदैनन् ? भनेर । मैले पटकपटक भन्दै आएको छु कि- ‘बजेट भाषण गरेको पैसा अर्थमन्त्रीले पाउँदैनन् । बजेट भाषण गर्नु अर्थमन्त्रीको कर्तव्य हो । मन्त्री भएबापत तलब र भत्ता मात्रै हुन्छ ।’

ती मेरा साथी जस्तै अहिले पनि धेरैलाई अर्थमन्त्रीले बजेट भाषण गरेको छुट्टै पैसा लिन्छन् भन्ने भ्रम हुनसक्छ । यस्तो गलत हल्लाको पछि लागेर भ्रममा परेकाहरु क्लियर होउन् भनेर मैले ३ जना पूर्वअर्थमन्त्रीलाई सोधेर यो कन्टेन्ट तयार पारेको हुँ ।


पुष्प दुलाल