जुम्लामा रहेको विश्वकै अग्लो छुमचौरमा धान रोपाइँ महोत्सव



जुम्ला । सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर, जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो । यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ ।

सोमबार विश्वकै अग्लो स्थान पातारासी गाउँपालिकाको छुमचौर ज्युलो (खेतहरु) मा कृषकले मार्सी रोपेका छन । पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको उत्पादन घट्दै गएकाले मार्सी लोप हुन नदिन पातारासी गाउँपालिका र कर्णाली कला केन्द्रको आयोजनामा छुमचौर ज्युलोमा सामूहिक रोपाइँ गरिएको हो । मार्सी संरक्षणका लागि छुमचौरमा महोत्सवको आयोजना गरिएको थियो ।

धान रोपाइँ महोत्सवमा चर्चित हास्यव्यङ्ग्य कलाकार राजाराजेन्द्र पोखरेलको प्रस्तुति थियो । जेठमा धान नरोपे असोजमा पर्ने तुसारोका कारण यहाँ धान पाक्दैन । कृषिविज्ञ बालकराम देवकोटाले भने, “धान रोपेपछि पाक्नलाई आवाश्यक पर्ने १५० देखि १६५ दिन हो, असारमा धान रोपे कात्तिकसम्म पाक्दैन, त्यसैले परम्परादेखि जेठमै धान रोप्ने चलन छ ।” गिनिजबुक अफ द वल्र्ड रेकर्डका अनुसार विश्वकै अग्लो स्थान समुद्री सतहदेखि दुई हजार ७९० मिटर उचाइकमा रहेको जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्ने गर्दछ । पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषकदेखि स्थानीय सरकार लागिपरेका छन ।

बजारमा मार्सीको माग बढ्दो छ । तर ‘ब्लास्ट’ रोगको सङ्क्रमण र असिनापानीले मार्सी झर्न थालेपछि यसको उत्पादन घट्दो छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको एक हजार ३०० हेक्टरमा मार्सी खेती हुँदै आएको छ । यो धान शितोष्ण हावापानीको लागि उपयुक्त मानिन्छ । पातारासी गाँउपालिकाको छुमचौर ज्युलोबाहेक अन्य गाउँका नागरिकले करीब एक दशकअघिदेखि मार्सी रोप्न छाडेका छन । मार्सी संरक्षण र जिल्लाको पहिचानका लागि पनि यसको खेती छाड्न नहुने पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । रासस


क्लिकमान्डु