अब काठमाडौंमै ओरिजिनल थकाली खाना पाइने, क्रसरोडको साढे २ करोड लगानी




काठमाडौं । नेपाली खानामा लोकप्रिय खानामध्ये एक हो ‘थकाली खाना’ । परम्परागत थकाली खानाको स्वाद वर्षौदेखि नेपालीहरुको जिब्रोमा बसेको छ । स्वदेशमा मात्रै होइन विदेशमा पनि निकै रुचाइएको स्वादिलो खाना अब राजधानीबासीले स्वाद लिन पाउने भएका छन् ।

थकाली समूदायको परम्परागत खानाको ओरिजिनल स्वाद चखाउने पोखरामा सञ्चालित ‘क्रसरोड थकाली भान्सा’ राजधानीमा प्रवेश गरेको हो । कमलादीमा आजदेखि सुरु भएको भान्साले थकाली खानाका विभिन्न परिकार उपलब्ध गराएको छ । 

साढे २ करोड लगानी गरिएको भान्सामा एक पटकमा १ सय जनाले बसेर खानाको स्वाद लिन सक्छन् । बिहान र साँझाको खानाका साथै दिउँसोको खाजाको समयमा गरी ३ सय ग्राहकलाई सेवा दिन सकिने शेरचनले जानकारी दिए ।

‘अरुले काठमाडौंमा सुरु गरेर मोफसलमा विस्तार गर्छन, हामीले मोफसलबाट विस्तार गरी काठमाडौंमा आयौं’ सञ्चालक वीरेन्द्र शेरचनले भने । अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान र आक्रोश बज्राचार्य मिलेर भान्सा सञ्चालन गरेका हुन् । 

‘काठमाडौंमा हामीले धेरै ठाउँमा थकाली भान्सा लेखेको पाइयो, तर थकाली परिकार पाइएन, नाम मात्रैका थकाली भइरहेको ठाउँमा वास्तविक थकाली स्वादका लागि हामी राजधानी आएका हौं’ शेरचनले भने ।

पोखराको न्यूरोडमा १० वर्षदेखि र लेकसाइडमा ८ वर्षयता सञ्चालित थकाली भान्सामा मुस्ताङबाट ल्याइएको दाल फापरको पिठो, च्याङग्राको सुकुटी जिम्मुलगायतका खाना उपलब्ध गराइएको छ । 

‘घोकेन’ (फापरको पिठोबाट बनाइने ब्रेडजस्ता परिकार) ‘आलु सुकुटी प्ला’ लगायतका विशेष खानेकुरा पनि भान्सामा पाइन्छ ।
‘आलू पिनी प्ला’ भातलाई पिसेर नुडल बनाइएको परिकार हो । लामो समयसम्म राख्न सकिने उक्त खानालाई आलूसँग मिसाएर तयार पारिन्छ । त्यस्तै, थकाली ससेज नाम दिइएको ‘काघा धुङ’ खसीको आन्द्रामा रगत र फापरको पिठो मिसाएर बनाइन्छ । थकालीको अर्को परिकार ‘कुन्चेम्बा वकह्विट चिप’ फापरको सुकुटी जस्तै परिकार पनि थकाली भान्साका विशेषता हुन् ।

क्रसरोड थकाली भान्साको मेन्यू
भेज सेट रु ३००
चिकन सेट रु ३५०
फिस सेट रु ४००
मटन सेट रु ४५०

फुम (अण्डा) सेट रु ३३०

ढिँडो
भेज सेट रु ३५०
चिकन सेट रु ४००
फिस सेट रु ४५०
मटन सेट रु ५००
फुम (अण्डा) सेट रु ३८०

चाया (आलु) सुकुटी प्ला रु ५००
नाका स्या (चिकन) प्ला रु ३७५
रा स्या (मटन) प्ला रु ४७५
तरंगा (फिस) प्ला रु ४५०
ताया (आलु) सिमि प्ला रु २५०
फुम (अण्डा) प्लान रु ३००


क्लिकमान्डु