चर्चित भारतीय सेफ सञ्जीव कपुरले भने- मुम्बईमा नेपालीको रेष्टुराँ देख्ने रहर छ



काठमाडौं । भारतका चर्चित सेफ सञ्जीव कपुरले नेपालीहरुको रेष्टुराँ मुम्बईमा देख्ने रहर भएको बताएका छन् ।

‘मलाई मुम्बईमा नेपाली रेष्टुराँ खोलेको देख्ने रहर छ, नेपालीको रेष्टुराँसँग मेरो कम्पनीले सहकार्य गरी काम गर्ने रहर छ,’ उनले भने ।

विश्वका धेरै होटल तथा रेष्टुराँमा नेपालीहरुले काम गरिरहेको र नेपालीहरु यस्ता क्षेत्रमा अब्बल रहेको भन्दै प्रसंशा समेत गरे ।

नेपालीहरु हस्पिटालिटी क्षेत्रमा इमान्दार र लगनशिल भएकाले आज विश्वका धेरै होटल र रेष्टुराँ तथा क्रुजमा समेत काम गरिरहेको बताए ।

‘जब मैले जागिर छाडे, मलाई दुबईको रेष्टुराँको मेन्यूमा काम गर्नका लागि अफर आएको थियो, तर मैले त्यहाँ काम गर्नुभन्दा आफ्नो सीपलाई फ्रेञ्जाइज गरेँ र रेष्टुराँको सहकार्यमा काम सुरु गरेँ ।’ त्यसैगरी नेपालीहरुले पनि आफूमा भएको ब्राण्डलाई विश्वका हरेक क्षेत्रमा फैलाउन सक्ने उनले बताए ।

कपुरले सुरु गरेको खजना रेष्टुराँ विश्वभरी ७० भन्दा बढी ठाउँमा सञ्चालनमा छन् । उनले २० वर्ष अगाडि आफूमा भएको सीपलाई ब्राण्ड र एक्पर्टिजका रुपमा प्रयोग गर्दै खजना रेष्टुराँ सुरु गरेका थिए ।

नेपाल विभिन्न तरिकाले अहिले परिवर्तन भइरहेको भन्दै लगानी गर्नका लागि राम्रो वातावरण सिर्जना भएकाले अहिलेको समयमा यसक्षेत्रमा लगानी गर्न उपयुक्त भएको समेत बताए ।

नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानीको ठूलो अवसर रहेको बताउँदै उनले यसलाई उपयोग गर्न सुझाव दिए ।

राजधानीमा बिहीबारदेखि सुरु भएको नेपाल भारत फ्रेञ्चाइज इन्भेष्टमेन्ट एक्सोमा कपुर अथितिका रुपमा सहभागी भएका थिए ।


पुष्प दुलाल