युनिलिभर जस्तै ‘ब्लू चिप’ बन्ला त शिवम् सिमेन्टको सेयर ? (प्राविधिक विश्लेषण)



काठमाडौं । बुधवार शिवम् सिमेन्टको सेयर मूल्य ४ प्रतिशत अर्थात् २६ रुपैयाँले घटेपनि बिगत १७ कारोबार दिनमा मूल्य ७० प्रतिशतले वृद्धि भयो । मंगलवारसम्ममा यो अवधिको वृद्धि लगभग ७९ प्रतिशत थियो ।

स्थानीयमा जारी प्राथमिक निश्कासनको क्रममा समेत एकै पटकमा बिक्री हुन नसकेको कम्पनीको सेयर दोस्रो बजारमा मूल्य बढ्ने क्रममा देखिएपछि भने लगानीकर्ताहरु झुम्मिए ।

प्रतिकित्ता ३ सय रुपैयाँमा बिक्री हुन निकै कठिन परेको कम्पनीको सेयर दोस्रो बजारमा भने ५ सयमाथि कारोबार भइरहेको छ । यसरी कारोबार हुनुमा केही कारण भने देखिएका छन् ।

मुख्य कारण बजारमा शिवमको सेयरलाई यसै कम्पनी रहेको उत्पादनमुलक समूहको अर्को कम्पनी युनिलिभरसँग दाँजेर हेर्न थालिएको छ । युनिलिभर नेपाल ब्लुचिप कम्पनीमा पर्छ । आजको दिनमा कम्पनीको प्रतिकिक्ता सेयर मूल्य नै २० हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा युनिलिभरले ७ सय प्रतिशतसम्म प्रतिफल दिइरहेको छ ।

यता, शिवम् सिमेन्टको वित्तीय आकार भने युनिलिभरको भन्दा ज्यादै ठूलो छ । अर्बौ आकारको वित्तीय विवरण रहेको शिवम् करोड आकारको युनिलिभर कम्पनीभन्दा तुलनात्मक रुपमा ठूलो छ । तर, शिवमको भन्दा युनिलिभरका वित्तीय सुचकहरु बलिया छन् ।शिवमको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ हुँदा युनिलिभरको २ सय ९७ रुपैयाँ छ । एक कित्ता सेयरबराबरको कमाईका आधारमा युनिलिभर निकै अगाडी छ । त्यस्तै शिवमको प्रतिसेयर नेटवर्थ २ सय हाराहारी रहदा युनिलिभरको २ हजार ३ सय ७६ रुपैयाँ छ । त्यसैले अहिले नै युनिलिभरसँग शिवमको तुलना हुने देखिदैन ।

अर्को कारण भनेको कम्पनीसँग रहेको सेयर प्रमियम रकम । शिवमको सेयरमा आर्कषण बढ्नुमा कम्पनीले प्रदान गर्न सक्ने लाभांश हो । गत आवमा नाफा पछि कम्पनीले १५ प्रतिशत नगद लाभांश दिएको छ । कम्पनीसँग सेयर प्रमियम वापत ९४ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियम रकमको प्रयोगको स्पष्ट प्रयोजन कम्पनीले खुलाएको छैन ।

लाभांशको रुपमा वितरण हुन सकेमा लगानीकर्ताले अहिलेको चुक्ता पुँजीको आधारमा २१ प्रतिशत लाभांश प्राप्त गर्नसक्छन् । तर, इक्रा नेपालले एक महिनाअघि रेटिङको क्रममा शिवमले यो रकमको प्रयोजन स्पष्ट नपारेको उल्लेख गरेको थियो । र, हाल चालु पुँजीको लागि बैंकको कर्जामा भर पर्नु परेको कम्पनीलाई यो पुँजीको उपलब्धताले सहज हुने विश्वास लिएको थियो ।

प्राविधिक विश्लेषण गर्दा बजार घट्ने दरिलो संकेत देखिन्छ । अन्तिम दिनको कारोबारमा परिमाणले भने सपोर्ट गरिरहेको छ । तत्काल खरीद गर्नुभन्दा पर्खनु सही हुन्छ ।

अल्पकालिन र दिर्घकालिन प्रकृतिका करीब २ अर्ब २२ करोड ऋण रहेको शिवमको सञ्चित आम्दानी नै ३ अर्ब ४५ करोड छ । यो आम्दानी थप लगानी वा ऋण तिर्न प्रयोग हुन नसक्ने भने होइन ।

अर्कोतर्फ वित्तीय विवरणलाई आधार मान्ने हो भने कम्पनीसँग व्यापारको क्रममा तिर्न पर्ने रकम १ अर्ब २४ करोड रहँदा व्यापारको क्रममा प्राप्त गर्नुपर्ने रकम पनि २ अर्ब १९ करोड रुपैयाँ छ ।

त्यस्तै, २ अर्ब ४४ करोड रुपैयाँको गोदाममा रहेका कच्चा पद्धार्थको बिक्रीबाट समेत थप आम्दानी हुने अवस्था छ ।

कम्पनीको बिक्री खर्च घटाएर पनि बिक्रीबाट भएको खुद आम्दानीमा १९ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५८ लाख पुगेको छ । हुन त कम्पनीको खर्चमा समेत २१ प्रतिशतले वृद्धि भएर १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको नाफा भने १३ प्रतिशतले बढेर १ अर्ब ५ करोड पुगेको छ । यो सम्भावना भएको कम्पनी भने हो ।

कम्पनीको कम परिमाणमा सेयर किनबेच हुनु पनि बिक्रीभन्दा खरीद चाप बढ्नुको कारण हो । कम्पनीको चुक्ता पुँजीको १२ प्रतिशत सेयर मात्रै सर्वसाधारण र स्थानीयको लागि बिक्री भएको हो । त्यसमा पनि स्थानीयको हातमा रहेको २ प्रतिशत सेयरको लकिङ पिरियण ३ वर्षको हुन्छ । यो सेयर तत्कालै किनबेचमा आउँदैन ।

बाँकी १० प्रतिशत अर्थात् ४४ लाख कित्ता सेयर मात्र किनबेच हुनसक्छ । पछिल्लो प्रवृत्ति हेर्ने हो भने दैनिक औसत ६१ हजार कित्ता सेयर मात्रै किनबेच हुन्छ, यो भनेको सर्वसाधारणमा रहेको सेयरको १ प्रतिशत मात्रै हो ।

सबैभन्दा धेरै सेयर २ लाख ३७ हजार कित्ता किनबेच भएको दिन समेत ५ प्रतिशत सेयर किनबेच भएको छ । नियमले नै आपुर्तिभन्दा माग बढि हुँदा पनि बजारमा मूल्य बढ्छ । त्यस्तै, यसै कम्पनीसम्बद्ध केही व्यक्तिहरुले समेत यस कम्पनीको मूल्य बढाउने प्रयत्न गरिएको समेत देखियो ।

प्राविधिक विश्लेषण

प्राविधिक विश्लेषणका आधारमा हेर्दा फरक फरक अवस्था देखिएको छ । विगत १० दिनको आधारमा लिइएको स्ट्याण्डर्ड डेभिएसनले कम्पनीको सेयर अस्थिरताको दर अन्यमा भन्दा उच्च देखिन्छ । यो ०.८४ छ । जति अस्थिरत्यति नै जोखिम, जति जोखिम त्यति नै फाइदाको सम्भावना पनि हुन्छ ।

त्यस्तै, १४ दिने आरएसआई सुचकले कम्पनीको सेयरमा आकर्षण कम हुन थालेको भएपनि अधिक खरीदको क्षेत्रमा रहेको संकेत गर्छ । यो सूचक स्केल ८६ मा छ । अघिल्लो दिन यो स्केलको ९४ मा थियो ।

५ सय ४६ मा पुगेर घटेको कम्पनीको २१ दिने मुभिङ एभरेज रेखा १० दिनेभन्दा तल नै छ । यसले मूल्य अझै बुलिश प्रवृत्तिमै रहेको संकेत गर्छ । १० दिनको पीभट विश्लेषणले भने कम्पनीले सोही अवधिमा ३ सय ९४ मा बल्ल टेवा पाउने देखाउँछ भने बढेमा ५ सय ९६ रुपैयाँसम्म पुग्न प्रतिरोध छैन ।

मैनवत्ति चार्ट विश्लेषणले कम्पनीको सेयर मूल्यले अन्तिम दुई दिनमा डार्क क्लाउड कभर वियरिश आकृति बनाएको छ ।

अन्तिम दुई दिनमा पहिलो दिनको सेतो मैनबत्तिको आकृतिभन्दा निकै माथि सुरु मूल्य कायम गरेको कालो मैनवत्तिले सेतो मैनवत्ति मध्यभन्दा तल पुगेर आकृति पुरा गरेको छ । यसले बजार घट्ने संकेत गर्छ । यसलाई दरिलो संकेत मानिन्छ । अन्तिम दिनको कारोबारमा परिमाणले भने सपोर्ट गरिरहेको छ । तत्काल खरीद गर्नुभन्दा पर्खनु सही हुन्छ ।


पुष्प दुलाल