३ महिनादेखि पर्यटन मन्त्रालय खाली, कहिले र को बन्ला नयाँ मन्त्री ?



काठमाडौं । २०७५ फागुन १५ गते तत्कालीन संबस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भयो । तत्कालीन मन्त्री अधिकारीको निधन भएको यही जेठ १५ गते ३ महिना पूरा हुन्छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सकेका छैनन ।

मन्त्रालयमा राज्यमन्त्री पनि छन् । डोल्पाका धनबहादुर बुढा राज्यमन्त्रीको रुपमा कार्यरत छन् । तर उनलाई क्याबिनेटस्तरको जिम्मेवारी भने दिइएको छैन । उनी मन्त्री हुन् कि होइनन् भन्ने जस्तो अवस्थामा छन् ।

पर्यटन मन्त्रालयको जिम्मेवारी यतिखेर प्रधानमन्त्रीले नै लिएका छन् । तर मन्त्रालय अन्तगर्तका काम कारवाही प्रभावकारी हुन सकेको छैन ।

पर्यटन मन्त्रालयमा मन्त्री बन्ने ध्याउन्नमा प्रेमबहादुर आले, पार्वत गुरुङ, योगेश भट्टराईलगायतको चासो रहेको बताइन्छ । राज्यमन्त्री नै रहेका धनबहादुर बुढा पनि पाएदेखि क्याबिनेटस्तरको मन्त्री बन्न चाहन्छन् ।

सरकारले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । तर विभागिय मन्त्रालयका रुपमा रहेका पर्यटन मन्त्रालयमा ३ महिना हुन लाग्दा समेत मन्त्री नियुक्त हुन सकेको छैन ।

मन्त्री नभएका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित भएको छ । मन्त्रालय मातहतका अन्य निकायको काम समेत त्यस्तै गरी प्रभावित भएको छ । जसका कारण सरकारको गति र मतिमा समेत प्रश्न उठाउन मिल्ने ठाँउ बनेको छ ।

यस्तै नेपाल वायु सेवा निगम अन्तर्गतका काम समेत प्रभावकारी हुन छाडेको छ । तर पनि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्ने तर्फ चासो देखाएका छैनन् । त्यसका पछाडि केही देखिने र नदेखिने कारण रहेका छन् । जानकारहरुका अनुसार पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्न खोज्ने सांसदहरुको भीडका कारण पनि निर्णय गरिहाल्न प्रानमन्त्री र सत्तारुढ नेकपालाई अप्ठयारो परेको हो ।

पर्यटन मन्त्रालयमा मन्त्री बन्ने ध्याउन्नमा प्रेमबहादुर आले, पार्वत गुरुङ, योगेश भट्टराईलगायतको चासो रहेको बताइन्छ । राज्यमन्त्री नै रहेका धनबहादुर बुढा पनि पाएदेखि क्याबिनेटस्तरको मन्त्री बन्न चाहन्छन् ।

मन्त्री बन्न चाहनेको भीड एकातिर रहेको छ भने अर्कोतर्फ मन्त्रिपरिषदमा नै रहेकाहरुको कार्यसम्पादन समेत प्रभावकारी नभएको भन्दै फेरबदल गर्नुपर्ने माग उठेको छ ।

पर्यटन मन्त्री नियुक्त गर्ने कि अरु मन्त्रीलाई समेत फेरबदल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने भन्नेमा नै निर्णय हुन सकेको छैन । जसका कारण सबैभन्दा बढी मारमा पर्यटन मन्त्रालय परेको छ । आर्थिक समृद्धिको आधारको रुपमा सरकारले पर्यटन क्षेत्रलाई समेत राखेको छ ।

तर व्यवहार र कार्यशैली भने नितान्त यथास्थितिमै रहेको छ । जसका कारण सरकारले सोचेजस्तो प्रगति हुने अवस्था छैन ।

वाइड बडी प्रकरणमा रबिन्द्र अधिकारीको नाम जोडिएपनि समग्रमा उनले मन्त्रालय मातहतका आयोजनामा प्रभावकारी नै काम गरेका थिए । उनको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि व्यक्त भएका प्रतिक्रियाले पनि उनी सही दिशामा नै थिए भन्ने देखाएको छ ।

आर्थिक समृद्धिको आधार भन्दै सरकारले पर्यटन क्षेत्रलाई अगाडि बढाइरहेको बेला मन्त्री नै चयन गर्न नसक्नु जस्तो बिडम्वनापूर्ण अवस्था हरु के हुन सक्ला र ?

पर्यटन क्षेत्रका जानकारहरु प्रश्न गर्न थालेका छन् । तर प्रधानमन्त्रीले हालसम्म सो बारेमा कुनै प्रष्ट उत्तर दिएका छैनन् । न कि उनले पार्टी भित्र नै छलफल चलाएका छन् । लामो समय मन्त्रालय खाली राख्नु, राज्य मन्त्रीलाई समेत जिम्मेवारी नदिनुले मन्त्रालय मातहतका निकाय तथा विभागले समेत प्रभावकारी काम गर्न सकेको छैन ।

प्रधानमन्त्री निकटस्थहरुका अनुसार प्रधानमन्त्री ओलीले निकट भविष्यमा नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री नियुक्त हुने दावी गर्दछ । तर मन्त्री हुन चाहने मान्छेहरुको व्यवस्थापन के कसरी गर्लान् ? र, आवश्यक तथा उपयुक्त व्यक्तिको चयन कसरी गर्लान् भन्ने चासो पनि उत्तिकै बढेको छ ।


पुष्प दुलाल