अंग्रेजी बोल्न जानेन भन्नेलाई मन्त्री मातृका यादवको जवाफ- मलाई सिकाउन आउनोस्



काठमाडौं । केही समयअघि लगानी सम्मेलनमा क्रममा उद्योगमन्त्री मातृका यादवले बोलेको अंग्रेजीलाई लिएर सर्वत्र आलोचना भयो ।
विदेशी लगानीकर्ताका अगाडि अंग्रेजी बोल्न पनि नजानेको भन्दै हाँसोको पात्र बनाए । सामाजिक सञ्जाल र विभिन्न मिडियामा उनले बोलेको उक्त भिडियोको क्लिप भाइरल भइदियो ।

त्यसको डेढ महिनापछि मन्त्री यादवले बुधबार त्यसबारेमा मुख खोले ।

‘मैले लगानी सम्मेलनमा इधर र दिदर के भनेको थिए, लौ मातृकालाई त अंग्रेजी नै आउँदैन भनेर उडाए,’ मन्त्री यादबले भने ।

कार्यक्रम थियो, एकल विन्दु सेवाकेन्द्र उद्घाटनको । त्रिपुरेश्वरस्थित उद्योग विभागको भवनको भुँईतलामा रहेको सेवाकेन्द्र उदघाटन गर्दै उनले भने, ‘अब धेरै ठाउँ भौतारिनु पर्दैन् ।’

उनले थपे- ‘अब यसैलाई इधर र दिदर जानु पर्दैन भनौ भने मातृकाले त अंग्रेजी जान्दैन भन्ने हुन्छ । त्यसैले भौतारिनु पर्र्दैन भन्दा उचित होला । म त अंग्रेजको ठाउँमा जन्मेको मान्छे पनि होइन, मलाई त कुनै शब्द नेपालीको पनि राम्रोसँग उच्चारण गर्न आउँदैन् । म मधेशको मान्छे न हुँ । सबै भाषामा कमान्ड हुँदैन ।’

भाषाको कुरालाई लिएर आफूलाई खिसी टिउरी गर्नेलाई यादबले आएर आफूलाई अंग्रेजी सिकाइदिन आग्रहसमेत गरे ।

‘जुन मित्रले भाषाको कुरा गर्नुभयो, आउनुहोस मलाई सिकाइदिनुस न । र, ती महाशयले पनि पढेको छैन् होला ।’ उनले भने, ‘तर म अब इधर र दिदर भन्दैन् ।’


पुष्प दुलाल