अध्यागमन सुधारका लागि ६ योजना, यसरी हुँदैछ परिवर्तन



काठमाडौं । अध्यागमन विभागले एक वर्षभित्र काम कारबाहीमा आमूल सुधार गर्ने उद्देश्यले काम अघि बढाएको छ । विभागका महानिर्देशक ईश्वरराज पौडेलले सुधारका लागि ‘सिक्स डाइमेन्सन’को अवधारणामा काम अगाडि बढाएको बताए ।

‘अध्यागमन सुधारका लागि मैले ६ वटा योजना अगाडि सारेको छु । जसलाई म सिक्स डीको नाम दिएको छु । सुधारको काम सुरु भइसकेको छ, आगामी वर्षमा आमूल सुधार देख्न सक्नुहुनेछ,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

यसका लागि विभागले पहिलो काम अन्तर्गत ‘नेपाली पोर्ट सिस्टम’ नामक सफ्टवेयर सुरु गर्नेछ । जसको ७० प्रतिशत काम पूरा भइसकेको छ अब २ महिनाभित्रमा काम पूरा भइसक्ने पौडेलले जानकारी दिए । उक्त सफट्वेयरलाई एयरपोर्ट र मुलुकभरका अध्यागमन कार्यालयमा स्थापना गरी सम्पूर्ण तथ्यांक संकलन गरिनेछ ।

योजना अनुसार काम भइरहेको र त्यसको पहिलो चरणमा आचरण सुधारका लागि कर्मचारीलाई प्रशिक्षणसमेत दिइनेछ ।

अध्यागमन कार्यालयमा अहिले भइरहेको पूर्वाधार हटाइ हाइटेक कम्प्युटर, फिङगर प्रिन्ट लिने मेसिन, आइरिस स्क्यानर, क्यामरा र पासपोर्ट रिडिङ मेसिन राखिनेछ । यसका लागि टेन्डर गर्ने तयारी भइरहेको छ ।

त्यस्तै विभागले एयरपोर्टमा रहेको कार्यालयलाई पूर्णरुपमा परिवर्तन गरी अत्याधुनिक बनाउनेछ । यसका लागि सम्पूर्ण डिजाइन पूरा भइ अब टेन्डरको आवहानको तयारी विभागले गरेको छ ।

‘तीन वर्षमा सक्ने गरी काम अगाडि बढाइएको छ, अहिले डिजाइनको काम सकिएर टेन्डरको तयारीमा छौं’ विभागकि अफिसर प्रज्ञा ढकालले भनिन् । २३ करोड रुपैयाँ लागत लाग्ने उक्त योजनाबाट एयरपोर्टमा टेबुल, बेञ्चदेखि कार्यालयको सम्पूर्ण संरचना परिवर्तन हुनेछ ।

पौडेलका अनुसार अध्यागमन विभाग पुरानो प्रविधि (इमी सफ्वेयर)मा चलेकाले अब भने सीमा नियन्त्रण (बोर्डर कन्ट्रोल) प्राणालीमा जान खोजेको छ ।

यो पर्यटक प्रवेश गर्ने पहिलो विन्दु हो । पहिलो भेट हुने ठाउँ पनि हो । विभागले पुरानो प्रविधि (इमी सफ्वेयर)को साटो सीमा नियन्त्रण (बोर्डर कन्ट्रोल) प्रणालीमा जाने तयारी गरेको छ ।

सो योजना अनुसार काम भइरहेको र त्यसको पहिलो चरणमा आचरण सुधारका लागि कर्मचारीलाई प्रशिक्षणसमेत दिइनेछ ।  हाल मुलुकमा वर्षभरीमा ११ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रन्छन् ।


पुष्प दुलाल