महिलालाई पानीको व्यवसायमा उद्यमी बनाउन समझदारी



काठमाडौं । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ ।

खानेपानी मन्त्रीबिना मगरको उपस्थितिमा महिला विकास मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा पानीको प्रशोधन गरी उत्पादन र बजारीकरण गर्ने र महिलाहरुलाई पानीको क्षेत्रमा उद्यमी बनाउने योजना सहित यस्तो समझदारी भएको हो ।

कार्यक्रममा मञ्चको तर्फबाट अध्यक्ष प्रमिला आचार्य रिजाल, वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र टाटा कम्पनीको तर्फबाट एच ई कुट्टीले समझदारी पत्रमा हस्ताक्षर गरे।

मञ्चको नेतृत्वमा गरिएको कार्यक्रममा महिला उद्यमी महासंघ, मानुषी लघु वित्तीय संस्था र व्यावसायिक महिला महासंघ समेत यस परियोजनामा जोडिएका छन् ।

महासंघकी अध्यक्ष शारदा रिजाल, मानुषी लघु वित्तको तर्फबाट अध्यक्ष पद्मासना शाक्य र व्यावसायिक महिला महासंघबाट प्रथम उपाध्यक्ष कमलेश लता राजभण्डारीले समेत समझदारी पत्रमा हस्ताक्षर गरे ।

प्रशोधित पानी उद्योगमा महिलाहरुलाई सहभागी गराई उद्यमी बनाउने परियोजना अन्तर्गत पहिलो चरणमा काभ्रे जिल्लाको नाला र पनौतिबाट योजना सुरु गरिने भएको छ ।

महिलाहरुमा उद्यमशीलताको विकास गर्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण ऋण सहयोग गर्नेछ भने टाटा कम्पनीले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले महिलाहरुलाई उद्यमी नबनाएसम्म समृद्ध नेपाल बन्न नसक्ने बताउनुभयो । पानीको व्यवसायमा महिलाहरुलाई आकर्षित गर्न मन्त्रालयले पूर्ण सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

महिलाहरुलाई उद्यमशील बनाउने कार्यमा लाग्ने एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ लगायतका संस्थाहरुलाई मन्त्री मगरले धन्यवाद प्रकट गरे ।

कार्यक्रममा मञ्चकी अध्यक्ष प्रमिला आचार्यले अबको दुई वर्षभित्र दुई सय वटा स्वच्छ पिउने पानीको उद्योग देशैभरि सञ्चालन गरिने जानकारी दिए । आर्थिक समृद्धि ल्याउने हो भने महिलालाई उद्यमशीलता बनाउनु अति जरुरी रहेको उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वाणिज्य बैंकका नेपाल भरिकै शाखाहरुबाट १ दशमलब ६ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा महिलाहरुलाई ऋण लगानी गरिने प्रतिबद्धता जनाए । बैंकले दिने सस्तो ब्याज महिलाहरुकै क्षमता अभिवृद्धिका लागि रहेको उनले स्पष्ट पारे ।


पुष्प दुलाल