बालुवाटारमा ८ आना जग्गा किनेका विष्णु पौडेलले भने- दोषीलाई कारबाही होस्
काठमाडौं । नेपाल कम्प्युनिट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा प्रकरणमा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
सोमबार व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रम छलफलका क्रममा बोल्दै उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानविन होस, सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही होस माग गर्दछु ।’
उनले आफू दोषी देखिए त्यसका लागि जुनसुकै सजाए भोग्न तयार भएको समेत बताए ।
‘केही समययता ललिता निवास परिसरको जग्गा प्रकरणमा मेरो, र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराईलगायत विभिन्न व्यक्तिको नाम जोडिएका समाचारहरु प्रकाशित भइरहेका छन्’ उनले भने ।
जग्गा प्रकरणबारे आफूले पहिले नै प्रेस वक्तव्यमार्फत सत्यतथ्य सार्वजनिक गरेको भए पनि सरकारले यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताए ।
उनले भने, ‘वर्तमान सरकारले व्यक्तिका नाममा गैर कानूनी तरिकाले व्यक्तिका नाममा सरकारी एवम सार्वजनिक जग्गा सरकारको स्वामित्वमा फर्काउन चालेको कमदलाई हार्दिकतापूर्वक स्वागत गर्दछु ।’
सरकारले पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन गरेको समितिले बालुवाटारकको जग्गा व्यक्तिका नाममा नामसारी गरिएको प्रतिवेदन बुझाएको थियो । जसमा त्यसमध्येको ८ आना जग्गा विष्णु पौडेलका छोरा नवीन पौडेलका नाममा २०६१ पुस २९ गते नामसारी गरिएको पाइएको थियो ।
त्यसयता उनी आलोचित बनेका छन् भने २ पटकसम्म प्रेस वक्तव्यमार्फत स्पस्ष्टिकरण समेत दिइसकेका छन् ।
तत्कालिन समयमा सुवर्ण शमसेरका परिवारका नाममा रहेको २८५ रोपनी जग्गामध्ये १७२ रोपनीमा अहिले प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास, सभामुख निवास र नेपाल राष्ट्र बैंकको कार्यालय छ । बाँकी ११३ रोपनीमध्ये ८ आना जग्गा पौडेलका छोरा नवीन पौडेलको नाममा देखिएको छ ।