कहिल्यै घाटा नखाएका शिवम् सिमेन्टका लगानीकर्तालाई आइतबार र सोमबार मालामाल



काठमाडौं । नेप्सेमा सूचिकृत हुने वित्तिकै लगातार घटेर लगानीकर्तालाई निराश बनाएको शिबम् शिमेन्टले पछिल्दा दिनमा उत्साहित बनाएकोछ ।

खासगरी आइतबार र सोमबार शिबमको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

नेप्सेमा यो कम्पनीको सेयर बेच्नेहरुभन्दा किन्नेहरुको संख्या दोब्बर बढी छ । जसकारण मूल्य बढेको हो ।

शिवम् सिमेन्टमा किन झुम्मिए लगानीकर्ता ?

आइतबार मात्रै १४ रुपैयाँले बढेको शिबमको प्रतिकित्ता सेयर मूल्य सोमबार २ बजेसम्ममा १५ रुपैयाँले बढेर ३७३ रुपैयाँ पुगेको छ । सोमबार यो कम्पनीको सेयरको मूल्य बढीमा ३८० रुपैयाँसम्म पुगेको छ भने घटीमा ३५५ रुपैयाँसम्म झरेको थियो ।

सोमबार दिउँसो २ बजेसम्म यो कम्पनीको सेयर २७ हजारले बेच्न आदेश दिएका छन् भने ४० हजारले किन्न आदेश दिएको नेप्सेको मार्केट डेप्थमा उल्लेख छ ।

गत चैत ७ गते १६१ रुपैयाँदेखि ४८४ रुपैयाँसम्ममा पहिलो कारोबारका लागि खुल्ला गरिएको थियो । त्यसयता यो कम्पनीको सेयर लगातारजसो घटेको थियो । बैशाख ९ गते सबैभन्दा कम मूल्य ३०५ रुपैयाँमा झरेको थियो ।

लगानीकर्ताले यो कम्पनीको सेयर प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम जोडेर ३०० रुपैयाँमा किनेका थिए । यो कम्पनीको सेयरमूल्य ३०५ भन्दा बढी नै रहेकाले लगानीकर्ताहरुले कहिल्यै पनि घाटा खानु परेको छैन ।


पुष्प दुलाल