प्रधानमन्त्री कार्यालयको प्रष्टिकरणः आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न पठाएको पत्र भूलबश



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा जिल्ला र क्षेत्र नम्बर ५ का योजनाहरु आगामी योजना तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्न राष्ट्रिय योजना आयोगलाई पठाएको पत्र भूलवशः पठाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले दाबी गरेका छन् ।

डा. अर्यालले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा संसद सम्पर्क कार्यालयमा संकलन गरिएका आयोजनाको सूची प्रधानमन्त्रीको निर्देशन बिना नै निजी सचिवालयले भूलवशः योजना आयोगमा पठाइएको उल्लेख गरिएको छ ।

पत्रमा अगाडि भनिएको छ, ‘प्रधानमन्त्रीको निर्देशन बेगर नै गएकोमा प्रधानमन्त्रीले आश्चर्य तथा दुःख व्यक्त गर्नुभएको छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जारी गरेको प्रेस वक्तव्य

प्रधानमन्त्री योजना आयोगको अध्यक्ष समेत रहेकाले आफू मन्त्रिपरिषदको मातहतमा रहेका मन्त्रालयमा यो वा त्यो आयोजना समावेश निर्देशन नदिएको र उक्त पत्र जानकारी बिना नै गएको दाबी गरिएको छ ।

तर यस अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत चैत २९ गते पठाइएको पत्रमा प्रमको निर्वाचन क्षेत्र झापा र क्षेत्र नम्बर ५ का आयोजनाहरु आगामी २०७६/०७७ को आगामी योजना तथा कार्यक्रममा समावेश गरिदिन भनिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदले पठाएको पत्रमा विभिन्न ५६ वटा आयोजना समावेश गर्न भनिएको थियो । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १७ वटा, संस्कृति, पर्यटन नागरिक उड्यन मन्त्रालय अन्तर्गत १५ वटा र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत २ वटा योजना समावेश गर्न निर्देशन दिइएको थियो ।

साथै भूमिगत स्यालो तथा ट्युवेल सिँचाइ योजना अन्तर्गत ४ वटा योजना, मझौला सिँचाइ योजना अन्तर्गत ५ वटा, जल उत्पन्न प्रकोप व्यवस्थापन अन्तर्गत ३ वटा, आपतकालीन तथा बाढी पहिरो पुर्नस्थापना कार्यका लागि १० वटा योजना समेट्न भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय योजना आयोगमा पठाएको पत्र

 

 


पुष्प दुलाल