निजी क्षेत्रले खोल्यो नेपाल पावर एक्सचेञ्ज कम्पनी, १० करोड चुक्ता पूँजी



काठमाडौं । नेपालमा विद्युत् उत्पादन व्यापार तथा वितरणको काम नेपाल विद्युत् प्राधिकरणले मात्रै गर्दै आएको थियो । प्राधिकरणले सबै काम गर्दै आएकले निजी क्षेत्र तथा अन्य निकायले त्यसमा हात हालेका थिएनन् ।

तर पछिल्लो पटक विद्युत् व्यापार गर्ने लक्ष्यका साथ निजी क्षेत्रले नेपाल पावर एक्सचेञ्ज कम्पनी दर्ता गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईलगायतको टोलीले सो कम्पनी दर्ता गरेका हुन् ।

कम्पनीका ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान, कुमार पाण्डे, आशिस गर्ग, कुशकुमार जोशीलगायत रहेका छन् । कूल १० करोड चुक्ता पूँजीमा स्थापना भएको कम्पनीले विद्युत् प्रसारणका लागि प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापार समेत गर्ने भएको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा केही समय पहिले कम्पनी समेत दर्ता भइसकेको छ । विद्युत् व्यापार तथा प्रसारणमा प्राधिकरणको मात्रै एकाधिकार रहेकोमा अब भने त्यो तोडिने भएको छ ।

तर इपानका अध्यक्ष गुरागाईले भने प्राधिकरण नपुगेको क्षेत्रमा आफूहरु पुग्ने बताए । उनले भने हामी सकारात्मक रुपमा लिऔं न, कोही कसैको प्रतिस्पर्धी हुने भन्दा पनि सबै मिलेर काम गरौ भन्ने ध्येयका साथ कम्पनी स्थापना गर्न लागिएको हो ।


पुष्प दुलाल