अब नेपालमै बन्ने भयो गाडी र बाइक, सरकारले सहुलियत दिए मूल्य घट्ने



सांकेतिक तस्बिर

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा गाडी र  त्यसका पाटपुर्जा मात्र ७१ अर्ब ३० करोड रुपैयाँको आयात भयो । गत आर्थिक वर्षमा १ खर्ब ५ अर्ब बराबरको गाडी र पाटपुर्जा आयात भएको छ ।

तर,नेपालमा अटोमोबाइल्सको १ खर्बभन्दा बढीको बजार भएपनि यहा एसेम्बली गर्ने उद्योगमा सफलता प्राप्त भएको छैन ।

हालै मात्र व्यवसायिक घराना लक्ष्मी ग्रुपले लक्ष्मी मोटर कर्पोरेशनले नवलपरासीमा गाडी एसेम्बल गर्ने उद्योग दर्ता गरेको छ । कोरियन गाडी हुन्डाईको बिक्रेताको रुपमा लक्ष्मी ग्रुपले काम गर्दै आएको छ ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठ नेपालमा गाडी एसेम्बल गर्नको लागि उद्योग दर्ताको काम गरेको बताउँछन् ।

‘अहिले हाम्रो काम प्रारम्भिक चरणमा छ,सरकारले छुट र सहुलियत दिएमा गाडीको एसेम्बली उद्योगको सम्भावना भने राम्रो छ,उद्योग लगाउनको लागि अध्ययनको क्रममा छौ।’

कम्पनीले उद्योग विभागमा बुझाएको विवरणमा वार्षिक ८ हजार गाडी एसम्बल गर्ने र ४५० जनालाई प्रत्यक्ष रोजगारी दिने ५ अर्ब १० करोड रुपैयाँ प्रत्यक्ष लगानी गर्ने उल्लेख गरेको छ ।

नेपालमा अहिले बजाज मोटरसाइकल भने यहा उत्पादन हुने गरेको छ । गोल्छा अग्रनाइजेशन अन्तर्गत हुलास अटोक्राफ्ट प्रालिले मोटरसाइकल एसम्बल गर्न थालेको डेढवर्ष भइसकेको छ ।

गत महिना आयोजित लगानी सम्मेलनको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छाले दैनिक ३ सय वटा बाइक एसम्बल हुने जानकारी दिए । कुन मोडलको बाइक एसम्बल भएको छ त्यसको जानकारी भने कम्पनीले दिएको छैन ।

टिभिएस मोटरसाइकलले समेत नेपालमा टिभिएस मोटरसाइकल एसम्बल गर्ने प्रक्रिया अगाडि बढाएको छ । टिभिएस मोटरसाइकलको बिक्रेता व्यवसायिक घराना शंकर ग्रुप अन्तर्गतको कम्पनी जगदम्बा मोटर्स हो । क्लिकमाण्डूसँगको कुराकानीमा केही समय अगाडि शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले टिभिएस मोटरसाइकलको एसम्बल गर्ने कुरा बताएका थिए ।

गाडी एसम्बल गर्न उद्योग दर्ता गरेका लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ सरकारले दिने अन्तशुल्कको सहुलियतले पनि पूर्ण रुपमा आयात गर्दा नै बेच्दा फाइदा हुने अवस्था अहिले रहेको बताए ।

‘हामीले आयात गरेर गाडी बिक्री गरीरहेका छौ,यहा एसम्बल उद्योग लगाउने भएपछि उपभोक्तालाई सहुलियत दिनको लागि सरकारले करमा छुट दिनुपर्छ,त्यो भएमा एसम्बल उद्योग फस्टाउने छ।’श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

उद्योग विभागमा गाडी तथा मोटरसाइकल एसेम्बल गर्ने भनेर २० वटा उद्योग दर्ता छन् । जसमा गोल्छा अग्रनाइजेशनको हुलास अटो क्राफ्ट मात्र संचालनमा छ ।
पछिल्लो महिनादेखि नेपालमा गाडी एसम्बल उद्योग निकै नै चर्चामा छ । महिन्द्रा गाडीको बिक्रेता अग्नी ग्रुपपनि नेपालमा एसम्बल उद्योग लगाउने प्रक्रियामा रहेको छ । उसले अहिले प्रारम्भिक रुपमा अध्ययन गरिरहेको छ ।

लगानी बोर्डले कोरियन कम्पनी मोटरेक्सलाई गाडी एसम्बल गर्नको लागि सैद्दान्तिक सहमति दिएको थियो । तर,मोटरेक्सले सातवर्षसम्मको लागि अर्को कम्पनीलाई एसेम्बल गर्न दिन नहुँने तथा त्यो अवधीको लागि गाडी ल्याएर बेच्न पाउने सत्र राखेपछि गाडी बिक्रेताहरुको संस्था नाडाले संस्थागत रुपमा नै विरोध जनाएको थियो ।

नेपालमा गाडी तथा मोटरसाइकल एसम्बल गर्ने उद्योगहरुको विगत भने राम्रो छैन । गोल्छा अग्रनाइनेशनकै उद्योगले मुस्ताङ म्याक्सको एसेम्बल गरेको थियो । सरकारी सहयोग नभएपछि यसको उत्पादन बन्द भयो ।


क्लिकमान्डु