कलंकी र गौशालाचोक क्षेत्रका टिकट काउन्टर हटाइँदै



काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने भन्दै कलंकी र त्यस आसपासको क्षेत्र तथा गौशलाचोक र त्यस आसपासको क्षेत्रमा रहेको टिकट काउन्टर हटाइने भएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै आगामी आइतबाट गोंगबु बसपार्क बाहेक मध्यम तथा लामो दुरीका यात्रुवाहक सवारी साधनको टिकट बुकिङ गर्ने काउन्टर हटाउने बताइएको छ ।
उक्त कलंकी र त्यस आसपासको क्षेत्र तथा गौशला चोक र त्यस आसपासको क्षेत्रमा रहेको टिकट काउन्टरले त्यस क्षेत्रमा यात्रु चढाउने र ओराल्ने गरेको भन्दै आगामी आइतबारबाट सबै काउन्टर बन्द गर्ने जनाएको छ । गत शुक्रबार काठमाडौंका जिल्ला प्रमुख अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जारी सूचनामा उल्लेख छ । सूचनामा यात्रुलाई टिकट लिँदा अनिवार्य रुपमा काउन्टरमा काम गर्ने कर्मचारीको परिचयपत्र हेर्न पनि भनिएको छ ।
अब उपत्यका वा आसपासका नगरहरुमा लामो तथा मध्यम दुरीको बाटो नागढुङगा हुँदा बाहिरिने यात्रुबाहक सवारी साधनले नयाँ बसपार्क पोष्टमा र बनेपाबाट छुट्ने सवारी साधनले साँगा ट्राफि पोष्टमा इन्ट्रि गर्नुपर्ने जनाइएको छ ।


क्लिकमान्डु