सगरमाथा सफाइगर्दा भेटियो ४ जनाको शव, सफा गर्न साढे २ करोड लाग्ने



काठमाडौं । सगरमाथा सरसफाइका क्रममा चार जनाको शव भेटिएको छ । पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले सरसफाइका क्रममा चार जनाको शव भेटिएको पुष्टि गरेका छन् ।

सगरमाथा सरसफाइका क्रममा भेटिएका शवलाई राजधानी ल्याएर आफन्तको जिम्मा लगाइने भएको छ । सगरमाथा सरसफाइ अभियान अन्तर्गत बेसक्याम्पस पुगेको टोलीले चार जनाको शव भेट्टाएको हो । विभागका अनुसार सगरमाथा आरोहण सुरु भएदेखि हालसम्म २ सय ७९ जनाको मृत्यु भइसकेको छ ।

बैशाख १ गतेबाट सुरुवात भएको सरसफाइ अभियान डेढ महिनासम्म चल्नेछ । अभियान अन्तर्गत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको छ । अभियानमा तालिमप्राप्त १२ जना शेर्पाका साथै नेपाली सेनाको समूह सहभागी रहेका छन् ।

विभागले सफाइ अभियानका लागि २ करोड ३२ लाख १६ हजार ३ सय ७ रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । सरसरफाइ अभियानका लागि हालसम्म २ करोड ३६ लाख रुपैयाँ संकलन भइसकेको छ । नेपाल पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाली सेना र खुम्बु पासाङ ल्यामु गाउँपालिकाको नेतृत्वमा लुक्लाबाट सरसफाइ सुरु भएको छ ।

सगरमाथा सफाइ अभियानका लागि वन तथा वातावरण मन्त्रालयले ५० लाख, कोकाकोला कम्पनीले ५० लाख, खुम्बु गाउँपालिकाले ३० लाख, नेपाल पर्यटन बोर्डले ३० लाख सहयोग गरिसकेका छन् ।

प्रदेश नम्बर १ ले २५ लाख, राष्ट्रिय प्रकृती कोषले २० लाख, नेपाल पर्वतारोहण संघले २० लाख, एनएमबी बैंकले १० लाख सहयोग गरेका छन् । त्यसैगरी भ्रमण वर्ष २०२० ले १० लाख, नबिल बैंकले ५ लाख, प्रभु बैंकले ५ लाख, तारा एयरले ५ लाख र पर्यटन विभागले २ लाख रुपैयाँ नगद सहयोग गरेको महानिर्देशक घिमिरेले जानकारी दिए ।


क्लिकमान्डु