पुर्ननिर्माणमा बाधा पार्ने प्राविधिकलार्इ कारवाही गर्ने प्राधिकरणकाे चेतावनी




काठमाडौ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएको प्रति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इन्जिनियर्स एसोसियनका पदाधिकारीहरुसहितको २०७६ बैशाख १२ गते बिहानको बैठकमा प्राविधिकहरुलाई जानकारी गराएको प्राधिकरणले प्रष्ट पारेको छ । तर सहमति विपरित सामूहिक राजीनामा दिएको घोषणा गर्नुले पुनर्निर्माण र भूकम्प पीडित जनताको संवेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको प्राधिकरणले ठहर गरेको छ ।

मागहरु सम्बोधन भइसकेकोले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तत्काल पुनर्निर्माणको कार्यमा जुट्न सबै प्राविधिकहरुलाई निर्देशन दिएको छ । सार्थ पुनर्निर्माणको महाअभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु