कर कार्यालयले रोक्का गर्यो सुधीर, कोहिनूर र ओरेन्टलको बैंक खाता, २४ करोड कर बक्यौता



काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेत अध्यक्ष रहेको कोहिनूर हिल हाउजिङ र ओरेन्टल विल्डर्सले सरकारलाई तिर्नुपर्ने कर नतिरेपछि कर कार्यालयले बैंक खाता रोक्का गरेको छ ।

कोहिनूर, ओरेन्टल र बस्नेतको बैंक खाता रोक्का गर्नका लागि राष्ट्र बैंकमा पत्र पठाइएको मध्यमस्तरीय करदाता कार्यालय बबरमहलका प्रमुख झक्कप्रसाद आचार्यले जानकारी दिए ।

‘धेरै कम्पनीले कर तिरेका थिएनन्, हामीले सूचना निकालेपछि अधिकांशले तिरिसकेका छन्, अब ६/७ वटाले मात्रै तिर्न बाँकी छ,’ आचार्यले क्लिकमाण्डूसँग भने, ‘जसमध्ये २ वटा सुधीर बस्नेतका कम्पनी छन् ।’

कोहिनूर हिल हाउजिङले आर्थिक वर्ष २०६४/६५, ०६५/६६, ०६६/६७ र ०६७/६८ को १२ करोड ४४ लाख रुपैयाँ बक्यौता रहेको आचार्यले जानकारी दिए ।

त्यसैगरी, ओरेन्टल विल्डर्सले आर्थिक वर्ष २०६६/६७ र ०६७/६८ को ११ करोड ४२ लाख रुपैयाँ बक्यौता रहेको आचार्यले जानकारी दिए ।

‘यो दुबै सावाँ हो, ब्याज जोडिएको छैन,’ आचार्यले भने, ‘त्यसपछिका कुनैपनि वर्षको कर निर्धारण भएको छैन ।’

समस्याग्रस्त सहकारी संस्था वा संघका लागि व्यवस्थापन गर्न गठन भएको समितिले बस्नेतले ५३ करोड ४० लाख रुपैयाँ राज्यलाई कर तिर्नुपर्ने दायित्व देखाएको छ ।

समितिले बस्नेतले सहकारीका बचतकर्ता, हाउजिङ तथा अपार्टमेन्टका बुकिङकर्ता, बैंकको ऋण र अन्य साहूसमेत गरी कूल १६ अर्ब १ करोड ४५ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

पहिलो चरणमा हामीले चैत ३० गते र दोस्रो चरणमा बैशाख ६ गते बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिएको आचार्यले जानकारी दिए ।

केही वर्षअघि देखि कर नबुझाएपछि ठूला करदालता कार्यालयले कम्पनीको अवस्था हेरेर आफैं कर निर्धारण गरेको थियो । यसरी कर निर्धारण गरेर तिर्न आउन ताकेता गर्दा पनि तिर्न नआएपछि बैंक खाता रोक्का गरेर बक्यौता असूलीको प्रक्रिया अघि बढाइएको हो ।

त्यसैगरी पर्साको सवारी साधन बिक्रेता पशुपति अटो मोबाइल र त्रिपुरेश्वर कन्डक्टर प्रालि, धनगढीमा सब डिलरको रुपमा महिन्द्रा गाडी बिक्री गर्ने दक्षिणकाली इन्कर्पोरेटलगायतको बैंक खाता रोक्का गरेको छ ।


पुष्प दुलाल