४ संस्थाले राष्ट्र बैंकबाट मर्जर र एक्वायरको अनुमति पाए



काठमाडौं । नेपाल राष्ट्र बैंकले तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकलाई मर्जरमा जान सैद्दान्तिक सहमित दिएको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त सहमति दिएको हो ।

बैठकले साधना लघुवित्त वित्तीय संस्थालाई आर्थिक सम्बृद्धि लघुवित्त प्राप्ति गर्न सैद्दान्तिक सहमति दिइएको छ ।

राष्ट्र बैंकबाट मर्जरको लागि सैद्दान्तिक सहमति पाएको तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ । गाभिएपछि यी दुई बैंकको नाम तिनाउ मिसन विकास बैंकको नामबाट कारोबार गर्ने सहमति यस अघि नै भइसकेको छ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा हाल तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठलाई नै निरन्तरता गराउने बताइएको छ । मिसन डेभलपमेन्ट बैंकका सीइओ हरिप्रसाद घिमिरे नायव सीइओको भूमिकामा रहने बताइएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तिनाउको चुक्ता पुँजी ५६ करोड ७७ लाख ६७ हजार १०३ रुपैयाँ पुग्नेछ भने मिसनको चुक्ता पुँजी ५७ करोड ६४ लाख १ हजार रुपैयाँ रहेको छ ।

यस्तै राष्ट्र बैंकबाट प्राप्तिका लागि शैद्वान्तिक सहमति साधना लघुवित्त वित्तीय संस्थालाई आर्थिक सम्बृद्धि लघुवित्तले पाएका छन् ।

हाल साधनाको चुक्ता पुँजी ४ करोड ९० लाख रुपैयाँ रहेको छ । यसले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारीमा रहेको छ । उक्त हकप्रद सेयर जारी गरेपछि ९ करोड ८० लाख रुपैयाँ पुग्ने छ ।

यस्तै आर्थिक समृद्वि लघुवित्तको अहिले ३ करोड ६ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । संस्थाले ६० प्रतिशत हकप्रद सेयर ल्याउने तयारी समेत गरेको छ ।


पुष्प दुलाल