महालेखाको रिपोर्टः धितोपत्र बोर्डमा समस्यै समस्या



काठमाडौं । महालेखा परीक्षकको कार्यालयले धितोपत्र बोर्डमा समस्या नै समस्या भएको देखाएको छ ।

महालेखाको ५६ औं वार्षिक प्रतिवेदनमा बोर्डले धितोपत्र दलाल व्यवसायीले पालना गर्नुपर्ने व्यवसायीक मर्यादा सम्बन्धी निर्देशिक २०५८ लाई समय सापेक्ष बनाउन नसकेको, धितोपत्र दलाल बाहेक अन्य व्यवसायीलाई पनि समेट्ने गरी निर्देशिका पुनरावलोक भएको नदेखिएको महालेखाले जनाएको छ ।

लगानीकर्ताहरुको हित र बजारको स्वच्छता कायम राख्न धितोपत्र दलाल व्यवसायीले पालना गर्नुपर्ने व्यावसायिक मर्यादासम्बन्धी निर्देशिका, २०५८ लाई समय सापेक्ष बनाउनुका साथै धितोपत्र दलालबाहेक अन्य व्यवसायीहरुलाई पनि समेट्ने गरी निर्देशिका पुनरावलोकन भएको नदेखिएको उल्लेख छ ।

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को विनियम ४६ मा सीडीएससीले राफसाफ तथा फछ्र्यौट कार्य प्रभावकारी रुपमा व्यवस्थित गर्न फछ्र्यौट ग्यारेन्टी कोष स्थापना गर्न सक्ने र कोषको सञ्चालन गर्नका लागि आवश्यक कार्यविधि तयार गरी बोर्डबाट स्वीकृत गराई लागु गर्नुपर्ने व्यवस्था रहेकोमा कार्यविधि तयार गरेको नपाएको जनाएको छ ।

यस्तै वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ लाई २०७४ मंसिर ९ देखि लागु गरेको छ । वस्तु विनिमय बजारको लागि पाँच निवेदन बोर्डसमक्ष पेस भए तापनि बोर्डबाट कुनै निर्णय भएको नपाइएको उल्लेख छ । ऐन नियमले निर्दिष्ट गरेबमोजिम वस्तु विनिमयको कारोबारलाई नियमित गर्नेतर्फ ध्यान जानु जरुरी देखिने उल्लेख छ ।

यस्तै धितोपत्र बोर्डसम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र व्यवसायीको कार्य तथा क्षमता अनुरुप वर्गीकरण र स्तर कायम गर्न धितोपत्र व्यवसायीहरुको वर्गीकरण र स्तर निर्धारणको लागि तथा धितोपत्र व्यवसायीले बोर्डले तोकिदिएबमोजिम आफुले गर्ने व्यवसायको बीमा गराउनु पर्ने व्यवस्था रहेकोमा उक्त कार्यको कार्यान्वयनको लागि कार्यविधि तर्जुमा गरी लागु गरेको नदेखिएको उल्लेख छ ।

बोर्डको अाव २०७४–७५ को अन्तमा कोष तथा जगेडा ९६ करोड ८८ लाख, चालु दायित्व तथा व्यवस्था ९ करोड ७९ लाख न्युन स्थिर सम्पत्ति २ करोड ५ लाख, लगानी ५६ करोड ६७ लाख र चालु सम्पत्ति ४७ करोड ९५ लाख रहेको उल्लेख छ । सञ्चालन नाफा गत वर्ष ३५ करोड ३४ लाख रहेकोमा यो वर्ष २९ करोड ६२ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु