कंलकी कोटेश्वर सडकको ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो



   
काठमाडौं । कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम अहिले धमाधम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।
दश किलोमिटर लम्बाइको सो सडकमा झण्डै सात किलोमिटर अहिलेसम्म निर्माण भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए ।  आगामी वर्षसम्ममा बाँकी सडक निर्माण सक्ने योजना रहेको उनले बताए । उनका अनुसार सडकको मापदण्डभित्रै रहेका घरटहरा नहट्दा काममा बाधा पुगेको छ । उनले भने, “यी घरटहरा हटेमा बाँकी काम चाँडो सकिनेछ ।”
चक्रपथको भित्र र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको इञ्जिनीयर शर्माले बताए ।  सो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन लेन छन् । मुख्य र सहायक लेन चार÷चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक÷एक गरेर दुई लेनको छ । मुख्य र सहायक गरेर आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । समूहले गत पुसमा नै नेपाल सरकारलाई सडक हस्तान्तरण गरिसकेको छ ।
सो सडक निर्माणले चक्रपथमा आवतजावत सहज भए पनि सर्भिस ट्र्याक बनिनसकेकाले मुख्य सडकमा छिर्न कठिन भएको स्थानीयवासी बताउँछन् । चीन सरकारले नै अहिले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडकको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिरहेको छ ।रासस


क्लिकमान्डु