नयाँ वर्षमा बैंक खाता खोल्दा १०० रुपैयाँ उपहार, केवाइसी पनि भर्नुपर्दैन
काठमाण्डौ । २०७६ बैशाख १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा १०० रुपैयाँ उपहार पाइने भएको छ । हरेक नेपालीको बैंक खाता खोल्ने अभियान नै सञ्चालन गरेको सरकारले सर्वसाधारणलाई आकर्षित गर्न यस्तो रणनीति अपनाएको हो ।
सरकारले २०७६ को बैशाख १ गतेदेखि ‘खोलौं बैंक खाता’ अभियान शुरु गरेको छ ।
नेपाल राष्ट« बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बुधबार परिपत्र जारी गर्दै २०७६ सालमा खोलिएका खातामा १०० रुपैयाँ राखिदिन निर्देशन दिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको रकमबाट यसरी बैंक खाता खोल्दा १०० रुपैयाँ जम्मा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यो अभियान अन्तरगत खोलिएका खाताको वार्षिक कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ तोकिएको छ । सो भन्दा बढी कारोबार भए केवाइसी भर्नुपर्छ ।
सबै नेपालीको बैंक खाता खोल्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको सुरु गरेको छ । यो व्यवस्था अनुसार खाता खोल्दा ग्राहकको अन्य बैंक खाता नभएको स्वघोषणा दिनुपर्ने छ ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ मा नयाँ व्यवस्था अनुसार खाता खोल्दा नगरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रको आधारमा खोल्न सकिने छ ।
व्यवस्थामा खोलिएका खातामा बैंक तथा वित्तीय संस्थाले आफ्नो तर्फबाट प्रति खाता एक सय रुपैयाँ जम्मा गर्न सक्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते यो अभियानको शुभारम्भ गर्दैछन् ।