उद्योगपति दिवाकर गोल्छाको निधन



काठमाडौं। उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नाइस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार राति साढे १२ बजे निधन भएको शेखर गोल्छाले जानकारी दिए ।

किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो।

‘उपचारका क्रममा उहाँ (दिावार गोल्छा)को मंगलबार राति साढे १२ बजे निधन भएको छ,’ शेखरले क्लिकमाण्डूसँग भने, ‘गोल्छाको पार्थिव शरिरलाई आज काठमाडौं ल्याइने छ । र, भोलि परम्परागतरुपमा दाहसस्कार गरिनेछ ।’

६७ वर्षका दिवाकर नेपालको औद्योगिक क्षेत्रका एक महत्वपूर्ण धरोहर हुन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत भइसकेका गोल्छाले आफ्नै नेतृत्वमा दुई दर्जन बढी उद्योग स्थापना गरेका थिए ।

उनी २०६४ को संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपाति कोटामा सांसदसमेत बनेका थिए ।

हुलास जस्ता पाता, हुलास वायर, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास ब्राण्डका खाधान्न उत्पादन गर्ने उद्योग उनले खोलेका थिए ।

उनको निधनले गोल्छा परिवारले अभिभावक गुमाएको र समग्र निजी क्षेत्रले एउटा प्रखर उद्योगी गुमाएको छ ।


पुष्प दुलाल