चेम्बर उपाध्यक्ष भाष्कर महासंघको राजनीतिमा सक्रिय बन्दै, यस्तो छ रणनीति



नेपाल चेम्बर अफ कमर्शको कार्यसमितिको हालका उपाध्यक्ष हुन् भाष्करराज राजकर्णिकार । उद्योग वाणिज्य महासंघको संस्थापक समेत रहेको चेम्बर महासंघबाट अलग भएर देशभर आफ्नो संजाल बढाउने भन्दै हिडेको छ ।

महासंघका कार्यक्रममा अहिले चेम्बरको औपचारिक खालको प्रतिनिधित्व भने हुँदैन । तर,शुक्रबार नुवाकोट उद्योग वाणिज्य संघको उद्घाटन समारोहमा दृष्य अलि फरक थियो । महासंघको पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका भाष्करराज राजकर्णिकार महासंघ अध्यक्ष भवानी राणा,वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठसँगै एउटै मंचमा अग्रस्थानमा देखिए ।

२०७१ सालमा भएको महासंघ निर्वाचनमा बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार अध्यक्षमा पराजित भएका थिए । प्रदिपजंग पाण्डेसँग चुनावी प्रतिस्पर्धामा पराजित भएपछि उनको अध्यक्ष बन्ने सपना पुरा भएन ।

अध्यक्षको चुनाव जितेपछि पनि पाण्डेलाई सहज भएन । महासंघको राजनीतिको कारण उनको ३२ वर्ष पुरानो भष्ट्रचारको मुद्दा उठ्यो । जसको कारण उनले एकवर्षमा नै पद छाड्नु पर्यो ।

त्यसपछि भाष्करले अध्यक्ष बन्ने प्रयास गरे । तर,परिस्थिती उनको साथमा आएन । तत्कालिन बरिष्ठ उपाध्यक्ष पशुपति मुरारका अध्यक्ष बने । बरिष्ठ उपाध्यक्ष भवानी राणा ।

त्यसपछि महासंघमा बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बनेर गरेर विधान संसोधन भयो । महासंघको राजनीतिबाट भाष्कर पूर्णरुपमा बाहिरिए । संसोधिन विधान अनुसार दुईवर्ष अगाडि राणा अध्यक्ष बनिन् भने बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा चुनिए ।

तर,पछिल्लो एकवर्षदेखि फेरी महासंघमा विधान संसोधनको कुरा उठ्न थाल्यो । महासंघको आगामी चैतको अन्तिम साता वार्षिक साधारणसभा छ । यो पटक विधान संसोधन हुँदैन । यदी विधान संसोधन गर्ने भए भदौं महिनामा विशेष साधारणसभा बोलाएर विधान संसोधन गर्ने खेल खेलिने छ ।

महासंघको राजनीतिमा सधै सक्रिय हुने चण्डिराज ढकाल विधान संसोधन समितिका संयोजक छन् । उनले सार्वजनिक रुपमा घुमाउरो तरिकाले दवाव दिने खेल खेलेका छन् । जसबाट सधै ढकाल महासंघको राजनीतिमा शक्तिकेन्द्र बनेर बन्न सकुन ।

महासंघको यही विधान संसोधनको खेल देखेर भाष्कर राजकर्णिकार महासंघको राजनीतिमा पुनः सक्रिय बन्न खोज्दैछन् ।
यदी विधान संसोधन भएर अध्यक्षको निर्वाचन हुने भएमा अध्यक्षको निर्वाचन लड्ने तयारी भाष्करको छ । औपचारिक रुपमा भाष्करले केही नबताएपनि अनौपचारिक रुपमा गृहकार्य भने गरिरहेका छन् ।

जसले गर्दा महासंघबाट अलग भएको चेम्बरको उपाध्यक्ष रहेका भाष्कर शुक्रबार नुवाकोटमा उद्योग वाणिज्य संघको उद्घाटन समारोहमा भाग लिन नुवाकोट पुगे ।

महासंघको राजनीतिमा विधान संसोधन नभएमा बरिष्ठ उपाध्यक्ष शेखर नै स्वत अध्यक्ष बन्ने छन् । यदी विधान संसोधन भएमा महासंघको शाख त निकै नै कमजोर हुने छ । महासंघको राजनीति अर्को तरिकाले अगाडि बढ्ने छ ।


क्लिकमान्डु