लगानी सम्मेलन गर्ने घोषणा गर्दै १ नम्बर प्रदेशका मूख्यमन्त्रीले भने- ब्याजदर घटाउन पहल गर्छु



बिराटनगर । प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले बैंकको ब्याजदर घटाउन आफूले पहल गर्ने बताएका छन् । १ नम्बर प्रदेशको उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै शुक्रबार मूख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

‘बैंकको ब्याजदर महंगो भएको भन्दै बिराटनगरका व्यवसायीहरुले शुरु गरेको आन्दोलन राष्ट्रिय मुद्दा बनेको थियो, यद्यपि अहिलेसम्म ब्याजदर भने घटेको छैन,’ उनले भने, ‘बैंकको ब्याज नघट्दा औद्योगिक वातावरण बन्न सकेको छैन । म ब्याजदर घटाउन आफ्नो तर्फबाट पहल गर्नेछु ।’

युवा मूख्यमन्त्री भएको प्रदेश नं. १ पनि बजेट खर्च गर्न असफल, ८ महिनामा साढे १२ प्रतिशत मात्रै

मुख्यमन्त्री राईले लगानी बिना विकास र सम्मृद्धि संभव नभएको बताए । उनले व्यवसायीहरुलाई लगानी बढाउन आग्रह पनि गरे ।

ब्याज घटाउनका लागि व्यवसायीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग पनि छलफल गरेका थिए । बजारमा लगानी योग्य पुँजी नभएपछि बैंकको ब्याजदर घट्न सकेको छैन ।

सरकारले खर्च गर्न नसकेका कारण बजारमा तरलता नहुँदा बैंकको ब्याजदर घट्न नसकेको हो । प्रदेश नं. १ कै कुरा गर्ने हो भनेपनि ८ महिनामा १२ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

३५ अर्व ९३ करोड ६० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले ८ महिनामा ४ अर्व ५६ करोड रुपैयाँ मात्र खर्च गरेको हो ।

त्यसैगरी राईले १ नं. प्रदेशमा लगानी बढाउनका लागि लगानी सम्मेलनको आयोजना गर्ने घोषणासमेत गरे ।

‘आगामी आर्थिक वर्षमा प्रदेश नं. १ ले पनि लगानी सम्मेलन गर्नेछ,’ उनले भने ।

त्यसैगरी, विश्वकै सर्बोच्च शिखर सगरमाथा पनि १ नम्बर प्रदेशमै रहेकाले विश्व पर्वतआरोही सम्मेलनको आयोजना पनि गरिने उनले जानकारी दिए ।


पुष्प दुलाल