एभरेष्ट बियरको निर्यात विस्तार गर्दै माउण्ट एभरेष्ट ब्रुअरी




काठमाडौ । भरतपुर महानगरपालिकामा रहेको माउण्ट एभरेष्ट ब्रुअरीले उत्पादन गर्दै आएको एभरेष्ट बियरको निर्यात विस्तार गर्ने भएको छ । सो कम्पनीले हाल जापान, बेल्जियम र अष्ट्रेलिया बियर पठाउँदै आएको छ ।

कम्पनीका प्रमुख प्रबन्धक शान्त श्रेष्ठका अनुसार कोरिया, सिङ्गापुर र अमेरिका बियर पठाउनका लागि गृहकार्य भइरहेको छ । कम्पनीको एभरेष्ट प्रिमियम बियर हाल विदेश पठाइँदै आएको छ । श्रेष्ठका अनुसार अमेरिकामा एभरेष्टको ट्रेड दर्ता भइसकेको छ । कोरिया र अष्ट्रेलियामा पनि दर्ताको प्रक्रिया भइरहेको उनले बताए ।

ब्रुअरीले १२ वर्षयता जापानमा एभरेष्ट बियर पठाउँदै आएको छ । वार्षिक चार कन्टेनर बियर जापान जाने गरेको उनले बताए । तीन वर्षअघिबाट बेल्जियम र दुई वर्षअघिबाट अष्ट्रेलिया बियर पठाइँदै आएको छ । वार्षिकरूपमा पाँच कन्टेनर बेल्जियम र तीन कन्टेनर अष्ट्रेलिया जाने गरेको श्रेष्ठले बताए । सात वर्षअघि चीन जाने गरेको भए पनि त्यहाँको बजार बढी प्रतिस्पर्धी भएपछि धान्न नसक्दा हाल रोकिएको छ ।

हाल निर्यात भइरहेका देशमा खपत बढाउने र नयाँ देशमा निर्यात शुरु गर्ने योजनामा कम्पनी रहेको उनले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम रहेको बियर भएकाले विदेशीले विशेष रुचि राखेको उनको भनाइ छ । कतिपयले बियर पिएपछि स्टिकर निकालेर राख्ने गरेको उनको भनाइ छ ।

सरकारले निर्यात गर्दा राजश्वमा छुट दिने गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजालका अनुसार बियर निर्यात गर्दा मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिने व्यवस्था रहेको छ । रिजालका अनुसार नेपाली बजारमा समेत बिक्री गर्ने यस ब्रुअरीले चालू आवको फागुन मसान्तसम्म एक अर्ब १० करोड १६ लाख २७ हजार अन्तःशुल्क बुझाइसकेको छ ।

माउण्ट एभरेष्ट ब्रुअरीले एभरेष्ट प्रिमियमसँगै गोल्डेन टाइगर स्ट्रङ, राइनो प्रिमियम र राइनो स्ट्रङ बियर उत्पादन गर्दै आएको छ । विसं २०४२ मा अमात्य परिवारले शुरु गरेको यस कम्पनीको पहिलो बियर सानमिगलको ब्राण्ड खोसिएपछि करीब बन्दको अवस्थामा पुगेकामा ब्राण्ड थप गरी निर्यातसमेत गर्न थालेपछि बजार विस्तार गर्न सकेको श्रेष्ठले बताए । कम्पनीमा हाल २२५ ले रोजगारी पाएका छन ।


क्लिकमान्डु