भिजिट भिषामा विदेश पठाउने निहुँमा ठगी गर्ने एक महिला पक्राउ



काठमाडौं ।  भिजिट भिषामा वैदेशिक रोजगारको लागि  पठाइदिने आश्वासन दिई रकम ठगी गर्ने एक महिला अन्तत प्रहरीको फन्दामा परेकी छिन ।

भोजपुरको हतुवागढी गाउँपालिका भई हाल काठमाडौंको सामाखुशीमा बस्दै आएकी ३४ वर्षीया बिमला थापालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट पक्राउ गरेको हो ।

काठमाडौंको पिंगलास्थानस्थित कम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्ने बिमलाले धनुषा मिथिला बिहारी नगरपालिका–२ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुबई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो ।

उनले गरेका सम्भावित अन्य अपराधिक गतिविधिबारे पनि सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु