मैले लगानी गरेका देशहरुमध्ये नेपाल सबैभन्दा सुरक्षित र सजिलो: डा. उपेन्द्र महतो



काठमाडौ । एनआरएनएका पुर्वअध्यक्ष डा.उपेन्द्र महतोले आफुले धेरै देशमा लगानी गरेको भएपनि नेपालजस्तो भरपर्दो र सुरक्षित देश अरु नपाएको बताएका छन् ।

राजधानीमा आयोजित लगानी सम्मेलनमा आफ्ना कुरा राख्दै उनले नेपालमा कुनै समस्या नभएको र लगानीका लागि यो निकै उत्तम ठाँउ भएको दाबी गरे । साथै डा.महतोले सम्मेलनमा सहभागी बक्ताहरुलाई सम्मेलनमा आफ्ना निजी समस्याहरु नराखी साझा विषयहरु राख्न आग्रह गरे ।

सहभागीहरुलाई सझाब दिदै महतोले भने– ‘यहाँ बोल्ने केहि बक्ताहरुले आफ्ना निजी समस्या राखेको पनि पाँए । उहाँहरुलाई मेरो आग्रह के छ भने सफलताका कुरा गर्नुहोस । व्यक्तिगत कुरा गर्न नेपालका निति निर्माताहरु, मन्त्री, प्रधानमन्त्री लगायत जो कोहिलाई भेटन सजिलो छ । कार्यालय, घर चिया पसल जहाँ पनि भेटन सकिन्छ, सजिलो छ । निजी समस्या उहाँहरुसँग भेटेको बेला गर्ने हो । लगानी गर्ने मनसायले आएका बिदेशी लगानीकर्ताहरुलाई उत्साहित बनाउने कुरा धेरै छन्, त्यसका ध्यान दिनुपर्यो ।

विदेशी लगानी आएमा आफु पछि पर्ने डर नेपाली व्यवसायीहरुमा भएको उनले जिकिर गरे । त्यही कुरालाई सङकेत गर्दै उनले भने– ‘हामी प्रतिस्पर्धा किन चाहँदैनांै ? हामी खुलेर विदेशी र नयाँ लगानीकर्तालाई स्वागत किन गर्दैनौ ? लगानीमा पनि प्रतिस्पर्धा हुनु जरुरी छ ।’

नेपाल निकै फाइदा गर्न सकिने देश भएकाले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उनले आग्रहसमेत गरे ।

‘यो मेरो चुनौति हो, नेपालमा कुनै पनि विदेशी लगानीकर्ताले आफुले पैसा लिन नसकेको गुनासो गर्ने ठाँउ छैन, विकसित देशमा बरु मैले एक ठाउँबाट अर्को ठाँउ पैसा ट्रान्सफर गर्न निकै दुख झेल्नु पेरको छ’ उनले भने ‘तर नेपालमा अहिलेसम्म कुनै त्यस्तो समस्या भोग्नु परेको छैन ।’

साथै उनले नेपालमा विकास बजेट हुन नसकेका कारण केन्द्रिय बैंक र सरकारसँग प्रसस्त पैसा भएको समेत बताए ।


पुष्प दुलाल