युनाइटेड फाइनान्समा मुथुतको ३९ करोड ९० लाख लगानी, चेक लिँदै चौधरीले भने- उचाइ चुम्छ



काठमाडौं । भारतको मुथुत फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा लगानी गरेको छ । मुथुत फाइनान्सका अध्यक्ष एमजी जर्ज मुथुतले युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीलाई ३० बिलियन अर्थात ३९ करोड ९० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

लगानी सम्मेलनमा भाग लिन नेपाल आएका मुथुत समूहका समेत अध्यक्ष रहेका एमजी जर्ज मुथुत र युनाइटेड फाइनान्सका अध्यक्ष चौधरीबीच चेक आदानप्रदान भएको हो ।

युनाइटेड फाइनान्समा यसअघि नै मुथुत फाइनान्सले लगानी गर्ने सहमति भएपनि लगानी सम्मेलन २०१९ को अवसर पारेर घोषणा गरिएको हो । कम्पनीको गत कात्तिक ३० गते भएको २४औं साधारणसभामा मुथुत फाइनान्सका मूख्य प्रबन्धक आरके बिजीमोनलाई आमन्त्रित प्रतिनिधिका रुपमा बोलाएको थियो ।

बैंकिङ र बीमा क्षेत्रमा लगानी गर्ने भारतको मुथुत ग्रुपका अध्यक्षको घोषणा, चौधरीले भित्र्याउँदै

साधारणसभाले प्रतिकित्ता १ सय ९० रुपैयाँका दरले मुथुत फाइनान्सलाई २१ लाख कित्ता बिक्री गर्ने विषेश प्रस्ताब पारित गरेको थियो ।

सुन धितो राखेर कर्जा दिएका कारण भारतमा मुथुत फाइनान्स निकै लोकप्रिय छ । सुन धितोमा दिइएको कर्जा सबैभन्दा कम जोखिम हुन्छ । चौधरी ग्रुपले राम्रोसँग युनाइटेड फाइनान्स सञ्चालन गर्न नसकेपछि सुन धितोमा सहजै ऋण दिने उद्देश्यले मुृथुत फाइनान्सलाई साझेदारका रुपमा भित्र्याएको हो ।

मुथुत फाइनान्स नेपालमा भित्रिएको दिन आफ्नो र नेपालकै लागि गर्वको कुरा भएको बसन्त चौधरीले बताएका छन् । चौधरीले मुथुतबाट चेक ग्रहण गर्दै गरेको फोटो फेसबुकमा राखेर पहिलोपटक मुथुतले युनाइटेड फाइनान्समा लगानी गरेको बारे सार्वजानिक जानकारी दिएका हुन् ।

नेपालमा केपी शर्मा ओली नेतृत्वमा भिजन सरकार भएका कारण आफूहरुले मुथुत जस्तो समूहलाई नेपाल भित्र्याउन पाएको चौधरीको भनाई छ । दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको आवश्यकता रहेको उनको भनाइ छ ।

‘लगानी सम्मेलनको अवसरमा भारतको नेतृतवदायी मुथुत फाइनान्सलाई युनाइटेड फाइनान्समा साझेदारको रुपमा भित्र्याउन पाउँदा व्यक्तिगतरुपमा म निकै नै खुसी छु,’ चौधरीले भनेका छन्- यो साझेदारीले उचाइ चुम्ने मेरो विश्वास छ ।

युनाइटेड फाइनान्स नेपालको चर्चित व्यावसायिक घराना चौधरी समुहको ठूलो लगानी छ । चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीसहित बसन्तकुमार चौधरी, राहुल चौधरी, अरुण चौधरीको लगानीछ । बसन्त चौधरी फाइनान्स अध्यक्ष छन् ।

फाइनान्सको चुक्ता पुँजी ८० करोड ५ लाख रुपैयाँ छ । जसमा मुथुत फाइनान्सले ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो ।

फाइनान्सले ०७५ पुस मसान्तसम्ममा ५ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले यो वर्ष सेयरधनीलाई जम्मा ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो ।

फाइनान्सको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा छ ।

अब बन्ने सञ्चालक समितिमा मुथुत फाइनान्सका एक जना सञ्चालक रहनेछन् । कूल ७ जनाको संचालक समितिमध्ये ४ जना संस्थापकको तर्फबट, २ जना सर्वसाधारणको तर्फबट र १ जना स्वतन्त्र सञ्चालक रहनेगरी कम्पनीको प्रबन्धपत्र नियमावली संसोधन गरिसकेको छ ।

२५ वर्षदेखि सञ्चालमा रहेको भए पनि युनाइटेड फाइनान्सले राम्रो प्रगति गर्न सकेको छैन । बैंक तथा बीमा क्षेत्रमा चौधरी ग्रुपको लगानी रहेको नविल बैंक सबैभन्दा धेरै कमाउने बैंक हो ।

तर, चौधरी समुहकै लगानी भए पनि युनाइटेड फाइनान्स र युनाइटेड इन्स्योरेन्सको भने हालत खराब छ । यी दुई कम्पनीले सेयरधनीलाई राम्रो प्रतिफल दिन सकेका छैनन् भने आफ्नो ब्राण्ड पनि स्थापित गर्न सकेका छैनन् ।


पुष्प दुलाल