लगानीकर्तालाई युनिलिभर, डाबर र एनसेल देखाउँदै सुरज बैद्यले भने- यहाँभन्दा धेरै नाफा कहाँ छ र ?



काठमाडौ । लगानी सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका विभिन्न देशका ६ सय लगानीकर्तालाई नेपाली व्यवसायी सुरज बैद्यले नेपालमा लगानी गरेर पर्याप्त नाफा कमाउन सकिने बताएका छन् ।

‘नेपालमा कतिसम्म नाफा कमाउन सकिन्छ भनेर युनिलिभर, एनसेल र डाबर नेपाललाई हेर्नुहोस्,’ सम्मेलनलाई सम्बोधन गर्दै व्यवसायी बैद्यले भने ।

नेपालमा लगानी गर्दा औषतमा १५/२० प्रतिशतको नाफा सुनिश्चित रहेको बैद्यले जानकारी गराए ।

लगानी सम्मेलनलाई सरकारले एउटा पर्वको रुपमा मात्र नभई रोजगारी सिर्जना लगायत धेरै दृष्टिकोणबाट हेरेको भन्दै बैद्यले सरकारको प्रशंसा समेत गरे ।

यो लगानी सम्मेलनलाई नकारात्मक रुपमा व्याख्या गरिए पनि सम्मेलन शुरु भएपछि त्यो नकरात्मक अफवाहले हावा खाएको र सम्मेलन निकै फलदायी हुनेमा आफु ढुक्क रहेको उनको भनाई थियो ।

सन २०१७ मा भएको पहिलो लगानी सम्मेलनमा के नेपालमा स्थायी सरकार होला ? भन्ने प्रश्न उठेको स्मरण गराउँदै उनले नेपालमा अहिले दुइतिहाई बहुमत रकेको स्थायी सरकार रहेकाले ढुक्क हुन उनले आग्र्रह गरे ।

साथै उनले नेपालमा लगानी गर्न निकै सम्भावना रहेका केही क्षेत्रहरुबारे समेत लगानीकर्ताहरुलाई जानकारी गराएका छन् ।

बैद्यले विदेशी लगानीकर्तालाई सुझाएको पहिलो क्षेत्र हो कृषि । नेपाल कृषि प्रधान देश भएपनि यहाँ निकै ठुलो परिणाममा कृषिजन्य सामानाहरु आयात हुने गरेकोले यो क्षेत्रमा लगानी गरेका निकै राम्रो प्रतिफल लिन सकिने उनले बताए ।

नेपालमा रहेको मौसम विविधिताले पनि नेपालमा विभिन्न क्षेत्रमा रहेको विभिन्न किसिमका कृषिजन्य सामाग्री उत्पादन गर्न सकिने उनको सुझाब छ । उच्च हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य पदार्थको महत्व लगानीकर्ताहरुलाई थाहा भएको उल्लेख गर्दैै उनले नेपालको भू–बनावट, उत्पादन र सम्भावनाबारे अवगत गराए ।

नेपालमा आयात हुने करिब २ सय विलियनको कृषिजन्य सामाग्री आयात रोक्ने तरिकाले उत्पादनमा जोड दिन सके राम्रो फाइदा हुनसक्ने उनले जानकारी गराए ।

त्यस्तै उनले नेपालमा लगानी गर्न सकिने अर्को क्षेत्र केमिकल फर्टिलाइजर प्लान्ट रहेको उनले बताए । नेपालको उत्पादनमा विविध कारणले निकै कमि हुने गरको त्यसका लागि केमिकल प्लान्टमा लगानी गरेमा निकै फाइदाजनक हुनेमा ढुक्क हुन लगानीकर्तालाई आग्रह गरे ।

निकै उत्साहित भएर सुनिरहेका लगानीकर्तालाई लगानीबाट निकै प्रतिफल लिन सकिने अर्को क्षेत्र पर्यटन रहेको बताए ।

‘नेपाल पर्यटनका लागि निकै उर्वर भूमि रहेको र त्यसमा लगानी गरेर निकै फाइदा लिन सकिन्छ,’ उनले भने ।

बैद्यले स्वीजरल्याण्डको प्रसंग कोट्याउँदै भने– ‘स्वीजरल्याण्डको कोहि यहाँ हुनुहुन्छ भने नरिसाउनुहोला, जति स्वीजरल्याण्डको चर्चा गरिन्छ नि त्यो भन्दा नेपालको मुस्ताङ निकै राम्रो छ ।’

त्यस्तै लुम्बिनी, जानकी मन्दिर लगायत पर्यटनको निकै सम्भावना बोकेका क्षेत्रबारे पनि उनले प्रष्ट पारेका हुन । नेपाल भुकम्पले थलिए पनि पर्यटन आगमनमा बृद्धि भएको तथ्याङक समेत प्रस्तुत गरे ।

त्यस्तै नेपाल योगाका लागि निकै सम्भावना भएको देश रहेको उनको सुझाब छ । योगाका पिता भगवान शिब, सबैभन्दा गहिरो खोँच, जाति जनजाति लगाति विविध पक्षलाई समेत उनले आफ्नो भनाइमा समेटेका हुन ।

लगानीको सम्भावना बोकेका अन्य क्षेत्रहरुमा मुभि सेन्टर, हाइड्रो, औद्योगिक पुर्वाधार, उत्पादन, स्वास्थ्य र शिक्षा रहेको उनको सुझाब छ । नेपालमा आयात घटाउन सक्ने जुनसुकै क्षेत्रमा लगानी गर्न कुनै सङकोच नमान्न लगानीकर्ताहरुलाई उनले आग्रह गरे ।

नेपालका जनता र उनीहरुको व्यवहार नेपाल आएर फर्किने हरेका पर्यटकको मनमा रहने गरेको सन्दर्भ समेत उनले लगानीकर्तालाई सुनाए । नेपाल पर्यटन वर्ष २०२० मा नेपाल भ्रमणमा आउन र त्यो अभियानलाई सफल बनाउन समेत उनले आग्रह गरे ।


पुष्प दुलाल