उद्योगमन्त्रीलाई देखाउँदै प्रधानमन्त्रीले भने- उहाँलाई कैँची चलाउन आउँदैन



काठमाडौं । कार्यक्रम थियो उद्योग वाणिज्य महासंघले आयोजना गरेको आठौं अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन ।

११ बजे मेलाको उदघाटन गर्ने पूर्वनिर्धारित समय थियो । अन्य कार्यक्रममा जस्तो प्रधानमन्त्री केपी ओलीलाई कुर्नु भने परेन ।

४५ मिनेट ढिलो प्रधानमन्त्री ओली मेला उद्घाटन गर्नका लागि आए । संयोगले सरकाले गर्न लागेको लगानी सम्मेलनको अघिल्लो दिन महासंघले गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटनमा आएका प्रधानमन्त्री ओली कार्यव्यवस्थताको कारण धेरै समय बसेनन् ।

महासंघ अध्यक्ष भवानी राणाले स्वागत भाषण गरेपछि प्रधानमन्त्री भाषण गरेर हिँडे ।

व्यापार मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले लगानीको अवरोध हिँजोको विषयको भन्दै अब कुनैपनि खालको अवरोध नहुने बताए ।

उद्योगमन्त्री यादवले भने, ‘प्रधानमन्त्रीज्यू भनेको सत्य हो, मलाई कैँची चलाउन आउदैन, तर चाहिएको ठाउँमा कैची चलाउन आउँछ ।’

‘लगानीको अवरोध हटाउनको लागि निजी क्षेत्रलाई मस्यौदा ल्याउन मैलेको थिएँ, कानूनमा यो ठाउँमा सुधार गर्नुपर्यो भन्नुपर्यो, विरोधका लागि विरोध गर्नु भएन,’ प्रधानमन्त्री ओलीले भने ।

सरकारले सार्वजनिक क्षेत्रमा लगानी कम गर्दै लजाने भन्दै प्रधानमन्त्री ओलीले हिँजोको दिनमा निजीकरणको नाममा बेचिखाने काम भएको बताए ।

‘सरकार निजी उद्य्म बढाउन चाहन्छ, यो पारस्परिकतामा आधारित हुनुपर्छ,’ उनले थपे ।

महासंघको मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सह–आयोजक पनि हो ।

मेलाको उदघाटन समारोहमा उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मातृका यादव पनि सहभागी थिए ।

उदघाटन मन्तव्य दिएपनि प्रधानमन्त्री ओलीले मेलाको उदघाटनको रिबन काटेनन् । यस्ता मेलामा रिबन काटेर मेलाको उदघाटन गर्ने चलन छ ।

प्रधानमन्त्री ओलीले उद्योगमन्त्रीतिर हेर्दै भने, ‘उहाँ कैँची चलाउन जान्ने मान्छे होइन, रिबन काट्नुहोला ।’

कतिपय विषयमा उद्योगमन्त्रीले उद्योगी व्यापारीलाई असहज हुने खालका कुरा गरेपछि उद्योगी व्यापारीले उद्योगमन्त्रीसँग छलफलको लागि सहजता लिएका छैनन् । यस्तै अवस्था अर्थमन्त्री डा. युवराज खतिवडासँग समेत छ ।

चिनी आयातमा प्रतिबन्ध लगाउने विषयमा होस् ब्याजदर घटाउने विषयमा उद्योगी व्यापारी प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीको हस्तक्षेपपछि चिनी आयाताम प्रतिबन्ध लाग्यो भने राष्ट्र बैंकले ब्याजदर घटाउन विभिन्न व्यवस्थामा परिवर्तन गर्यो ।

पछिल्लो समय उद्योगमन्त्री फेरिने समेत हल्ला भने चलेको छ ।

प्रधानमन्त्री कार्यक्रममा हिँडेपछि उद्योगमन्त्री यादवले रिबन काटेर मेलाको उद्घाटन गरे । उनले मेलाको अवलोकन समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै उद्योगमन्त्री यादवले भने, ‘प्रधानमन्त्रीज्यू भनेको सत्य हो, मलाई कैँची चलाउन आउदैन, तर चाहिएको ठाउँमा कैची चलाउन आउँछ ।’

उद्योगमन्त्री यादवले उदघाटन गर्नको लागि कैँची नै चाहिने भन्दै राम्रो–राम्रो कामको लागि कैँची चलाउन आउने र आफूले चलाउने गरेको बताए ।

‘अर्को खाले कैँची चलाउन भने मलाई आउँदैन, त्यो चलाउन पनि नपरोस्, हामी एकताबाट अगाडि बढ्ने हो,’ यादवले थपे ।

महासंघ अध्यक्ष भवानी राणाले मेलाले विदेशी व्यवसायीलाई लगानी सम्मेलन अगाडि जमघट हुने वातावरण बताएको बताइन् । मेलामा चीन, भारत, पाकिस्तान लगायत व्यवसायीको सहभागिता रहेको छ ।


पुष्प दुलाल