लगानी सम्मेलनमा उद्योगमन्त्री यादव वाइपास, अर्थमन्त्री खतिवडा ‘सुपरम्यान’



काठमाडौं । ठूलो होस् या सानो लगानी कम्पनी रजिष्ट्रारको कार्यालयबाट सुरु हुन्छ ।

लगानी गर्न चाहेका लगानीकर्ताले सुरुवातमा नै झन्झट बेहोर्न पर्ने ठाउँ हो कम्पनी रजिष्ट्रारको कार्यालय ।

कम्पनी रजिष्ट्रार कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको निकाय हो । लगानीकर्ताले माग्ने धेरै सुविधा उद्योग मन्त्रालय अन्तर्गतको हुन्छ ।

त्यसैले लगानी सम्मेलन जस्ता उद्योगसँग सम्बन्धीत विषयमा उद्योाग मन्त्रीलाई अघि सारिन्छ ।

सरकारले आउने शुक्रबार र शनिबार लगानी सम्मेलनको आयोजना गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका प्रतिनिधिलाई दायाँबायाँ राखेर बुधबार लगानी सम्मेलनबारे पत्रकार सम्मेलन गरी सार्वजानिक जानकारी गराए ।

तर, सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव उपस्थित थिएनन् ।

पहिलो पटक लगानी सम्मेलन गर्ने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन र बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगमन्त्री यादव उपस्थित थिएनन् ।

उद्योगमन्त्रीको सचिवालयले जानकारी नभएको कारण उपस्थित नभएको जनाएको छ ।

बुधबार आयोजना भएको पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा सूचना तथा प्रसारणमन्त्री गोकुल बास्कोटा अर्थमन्त्रालयमा आएका थिए । तर, बास्कोटाले केही पनि बोलेनन् ।

लगानी बोर्डले यो पटक लगानी सम्मेलनको निर्देशक समितिमा अर्थमन्त्री युवराज खतिवडालाई बनाउने निर्णय गरेको थियो ।

दुई वर्षअघि भएको लगानी सम्मेलनको सयोजनको काम तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीले गरेका थिए । त्यो बेला उद्योगमन्त्रालय लगानी सम्मेलनमा हाबी थियो ।

यो पटक लगानी बोर्डका अध्यक्ष समेत हुने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशक समितिको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रधानमन्त्री ओलीले नै उद्योगमन्त्री यादबलाई बाइपास गरेर लगानी सम्मेलनको सुपरम्यान अर्थमन्त्री खतिवडालाई बनाएका हुन् ।

उद्योगमन्त्री पत्रकार सम्मेलनमा उपस्थित नभएपनि उद्योग सचिव यामकुमारी खतिवडा भने दुई पटककै पत्रकार सम्मेलनमा उपस्थित थिइन् ।

पत्रकार सम्मेलनमा उपस्थित नभए पनि उद्योगमन्त्री यादवले लगानी सम्मेलनको एउटा सत्रको सभापतित्व गर्नेछन् ।

‘बिइङ इन्डष्ट्रियल बेस एण्ड क्रियट जब्स’ सत्रको छलफलको सभापतित्व उद्योगमन्त्रीले गर्ने छन् ।

जसमा उद्योग सचिव खतिवडा, डाबर नेपालका प्रवन्ध निर्देशक अभिमन्यु पोद्दार, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, हुवाजिन सिमेन्ट चीनका उपाध्यक्ष सु गाङ र पन्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ सहभागी छन् ।

उक्त कार्यक्रम शत्र प्रदिपकुमार श्रेष्ठले संचालन गर्ने छन् ।


पुष्प दुलाल