प्रहरीले पक्राउ गरेका सेयर लगानीकर्ताले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सन्देश (भिडियोसहित)



काठमाडौं । पुँजी बजारको नियामक निकायको धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धर्ना हुँदै अर्थमन्त्रीको राजनीनामा तथा बर्खास्ती सम्मको माग गरिरहेका सेयर लगानीकर्ताहरु यतिबेला प्रहरीको नियन्त्रणमा परेका छन् ।

१० गते धितोपत्र बोर्डमा ताला लगाउँदा नै पक्राउ पर्ने त्रासमा पुगेका लगानीकर्ता आज भने नेप्सेमा रिले अनसन बस्न जाने क्रममा नेप्सेसँगै रहेको टुकुचा खोलामाथीबाट पक्राउ परेका हुन् ।

आफ्ना ३२ बुँदे माग पुरा नभएको, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजतकत्वमा बनेको कार्यदलले दिएको ५८ बुँदा कार्यान्वयनमा आलटाल गरेको भन्दै उनीहरुले आन्दोलन गरिरहेका छन् ।

१० गते बोर्डमा ताला लगाउँन पुगेका उनीहरुलाई प्रहरीले लछार-पछार पार्दै ताला फोडेपछि आक्रोशित उनीहरुले सोमबार नेप्सेमा कालो बेलुन समेत उठाएर विरोध गरेका थिए । आजपनि त्यही विरोधको कार्यक्रमलाई निरन्तरता दिने र रिलेअनसन बस्न भनेर १० बजे नेप्से पुगेका उनीहरु नेप्सेसम्म पुग्दै पाएनन् ।

नेप्से पुग्नुभन्दा लगभग १०० मिटर वर नै प्रहरीले रोकिदियो । ११ बजे उनीहरु सबै जना पक्राउ परे । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत सिंहदरबारमा राखेको भएपनि पक्रिन चाँही महानगरीय प्रहरी वृत जनसेवाका डिएसपीको नेतृत्वमा आएको टोलीले पक्राउ गरेर सिंहदरबारमा ल्याएर छोडेको हो ।

उनीहरुलाई जनसेवाको टोलीले ११ बजे सिंहदरबारमा ल्याएर छोडेपनि उनीहरु अहिले नागरिक सहायत कक्षमा बसिरहेका छन् । पौने १२ बजे महानगरीय प्रहरी वृत सिंहदरबार पुग्दा उनीहरु नागरिक सहायता कक्षमा बसिरहेका थिए । त्यो समयमा पनि उनीहरुलाई आफु छुट्ने भन्दा पनि बजारको निकै चिन्ता देखिँदै थियो । उनीहरुको नियामक निकाय धितोपत्र बोर्ड, नेप्सेप्रति निकै आक्रोशित थिए ।

प्रहरी वृतको नियन्त्रणमा रहेका हरी ढकालले यति बेला धितोपत्र बोर्ड र नेप्सेले अर्थमन्त्रालयलाई गुमराहमा राखेर लगानीकर्तालाई समस्यामा पारेको बताए । अनलाइनले लगानीकर्ताहरुले धेरै समस्या पारेको समयमा धितोपत्र बोर्डले कुनै कुरा नबोल्नुलाई शंकाको दृष्टिकोणले हेर्न सकिने उनको धारणा छ ।

धितोपत्र बजारको नियामक निकाय बोर्ड भएपछि अनलाइनमा देखिएका समस्याको बारेमा चासो राख्नुपर्नेमा अहिलेसम्म मौन रहनुले उनीहरुमाथी नै शंकाको दृष्टिले हेर्न सकिने उल्लेख गरे । आफ्नो माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम नरोकिने र हरेक दिन विरोधका कार्यक्रम भने गरी नै रहने जनाए ।

पक्राउ गरिएका उनीहरुलाई प्रहरीले कस्टडिमा भने राखेको थियो । तर उनीहरु चाँही प्रहरीले छोडेपनि जान तयार नभएको बताइरहेका थिए । बरु आफूहरुलाई प्रहरीले कुन कानून अनुसार किन पक्राउ गरिएको भन्ने पनि थाहा पाउनु पर्यो भन्दै प्रहरी कार्यालयमा नै खैला बैला पनि गरे । पछि उनीहरुले प्रहरी कार्यालयभित्रै अनसन पनि सुरु गरे ।

पक्राउ परेका १३ र अन्य थपिएका केहीसहित झण्डै १७/१८ जना लगानीकर्ता प्रतिक्षालयमा रहेका थिए भने बाँकी १०/१२ जना लगानीकर्ता प्रहरीको गेट बाहिर बसेका थिए । उनीहरुलाई प्रहरीले भित्र पस्न दिएको थिएन ।


क्लिकमान्डु