काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै



काठमाडौं । काठमाडौँ उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभगले जनाएको छ ।

आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए ।

त्यसका लागि विभागले ठेक्का आह्वान गरिसकेको छ । दश किलोमिटर लामो सो खण्डमा सन् २०११ मा कोरियाली समूहले सम्भाव्यता अध्ययन गरेको थियो । उक्त प्रतिवेदनले प्राविधिकरुपमा सो खण्डमा रेल सम्भव रहेको देखाएको उनले बताए ।

‘प्राविधिक हिसाबले सम्भावना देखिए पनि यसका अरु पक्ष अध्ययन प्रतिवेदनमा आउनेछ,’ उनले भने ।

मेट्रो रेलतर्फ नै सातदोबाटोदेखि खोकना र नारायणगोपाल चोकदेखि बूढानीलकण्ठ खण्डमा भने पूर्वसम्भाव्यता अध्ययन हुन नै बाँकी छ । यस खण्डमा पूर्वसम्भाव्यता अध्ययनका लागि ठेक्का प्रक्रिया अघि बढेको चित्रकारले बताए ।

‘इच्छुक परामर्शदातालाई सूचीकृत गर्न मूल्याङ्कन भइरहेको छ,’ उनले भने ।

खोकना र नारायणगोपाल चोकदेखि बूढानीलकण्ठ खण्ड गरेर दुई खण्ड झण्डै १० किलोमिटर लामो छ । खोकना द्रतमार्ग९फास्ट ट्र्याक० को प्रस्तान बिन्दु भएकाले त्यहाँसम्म सम्भावता अध्ययन गर्न लागिएको हो ।

‘एकातिर चक्रपथ बाहिर जनघनत्व बढ्दै गएकाले र अर्कातिर दु्रतमार्गका कारण खोकनासम्म मेट्रो रेलको विस्तार आवश्यक ठानिएको हो,’ उनले भने ।

सरकारले केही वर्ष पहिलेसम्म सातदोबाटोदेखि महाराजगञ्जसम्मको खण्डमा मात्रै रेल निर्माण गर्ने योजना बनाएको प्रवक्ता चित्रकारले बताए । उनका अनुसार चक्रपथको बाहिरी भागमा समेत जनघनत्व बढ्दै गएकाले मेट्रो रेललाई अन्यत्रसमेत फैलाउने योजना बनाइएको हो ।

‘काठमाडौँ उपत्यकामा बसोबास गर्ने जनसङ्ख्या थपिइरहेकाले शहरी रेल सबैतिर चलाउन आवश्यक भइसकेको छ,’ उनले भने ।

तीन खण्डमा पूर्वसम्भाव्यता अध्ययन र त्यसपछि विस्तृत अध्ययन प्रतिवेदनका लागि झण्डै डेढ वर्ष लाग्ने विभागकोे अनुमान छ । ठेक्का सम्झौता भएर कार्यादेश भएपछि झण्डै १५ महीनाको ठेक्का अवधि हुने उनले बताए ।

व्यवस्थापिका–संसद्को विकास समितिकोे बैठकले दुई महीना पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मेट्रो रेल निर्माण अघि बढाउन निर्देशन दिएको थियो ।

समितिले रेल विभागलाई काम अगाडि बढ्ने गरीे पुनःसम्भाव्यता अध्ययन गर्न र रेलमार्गमा पर्ने जग्गाको क्षतिपूर्ति दिन भनेको थियो । एकातिर मेट्रो रेलको अध्ययनमा रेल विभाग लागिरहँदा लगानी बोर्डले पनि नागढुङ्गादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० अध्ययन गर्न लागेको छ ।

नागढुङ्गादेखि धुलिखेलसम्म कूल ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि बोर्डले संयोजन गरिरहेको चित्रकारले राससलाई बताए ।

यसैगरी सरकारले यसअघि नै ९४५ किलोमिटर लम्बाइको मेची–महाकाली विद्युतीय रेलमागको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न गरिसकेको छ । नेपाल–चीन जोड्ने केरुङदेखि काठमाडौँ रेलमार्गको चीन सरकारले पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । रेलमार्गमा विस्तृत अध्ययन प्रतिवेदनको प्रक्रिया अघि बढेको छ ।

भारत सरकारको सहयोगमा वीरगञ्जदेखि काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । रेलमार्गको अध्ययन अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । रासस


पुष्प दुलाल