अर्थमन्त्रीका सहयोगी खरेलले सेयर लगानीकर्तालाई प्रधानमन्त्रीसँग भेट्न दिएनन्



काठमाडौं । शनिबार मध्यान्ह ३ः४५ बजे । पुँजी बजारका लगानीकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगे ।

उनीहरुले प्रधानमन्त्रीसँग ४ बजेको समय मिलाएका थिए ।

पुँजी बजारको नियामक निकाय बोर्डले आफ्ना मागहरु नसुनेको भन्दै लगानीकर्ताहरु प्रधानमन्त्रीलाई आफ्ना गुनासा पोख्न चाहन्थे ।

पछिल्लो सम्बन्धित निकायले नसुनेपछि प्रधानमन्त्रीकहाँ गुनासो गर्न जाने चलन बढ्दो छ । केही समयअघि व्यवसायीहरु पनि बैंकको ब्याज घटाउनुपर्ने माग राख्दै प्रधानमन्त्रीकहाँ पुगेका थिए ।

आधा दर्जन लगानीकर्ताहरु लिएर बालुवाटार पुगेका सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल लगायतका लगानीकर्ताहरुलाई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहका विष्णु रिमालले किन आएको ? भन्दै प्रश्न गरे ।

लगानीकर्ताहरुले प्रधानमन्त्रीले समय दिनुभएको छ, त्यसैले भेट्न आएका हौं भन्ने जवाफ दिए ।

त्यसपछि रिमालले  अर्थमन्त्री खतिवडाको सहयोगीका रुपमा अर्थ मन्त्रालयमा काजमा कार्यरत राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेललाई फोन लगाए । खरेल अर्तमन्त्री खतिवडाका छोरीज्वाईं हुन् ।

रिमालले खरेललाई फोन गरेर सेयर लगानीकर्ता दबाब समुहका केही साथीहरु प्रधानमन्त्रीज्यूलाई भेट्न भन्दै विभिन्न ३२ बुँदे माग लिएर आउनु भएको छ, के हो यो ? भनेर सोधे ।

खरेलले ‘उहाँहरुको माग धेरै पुरा भइसक्यो, केही हुन बाँकी छ, अहिले भेट्न आवश्यक छैन’ भन्ने जवाफ दिए ।

त्यसपछि रिमालले लगानीकर्ताहरुलाई प्रधानमन्त्रीसँग भेट गराएनन् ।

प्रधानमन्त्री भेट् बालुवाटार पुगेका एक लगानीकर्ताले क्लिकमाण्डूसँग भने- ‘खरेलजीले त्यति भनेपछि रिमालजीले हामीलाई भित्र जान दिनुभएन, हामीले हाम्रा माग दर्ता गरेर आयौं ।’

यसअघि पनि पटक-पटक अर्थमन्त्री भेट्न खोज्दा खरेलले नै रोकेको ती लगानीकर्ताले बताए ।

‘अथमन्त्री भेट्न नदिएका खरेलले प्रधानमन्त्री भेट्न जाँदा पनि रोके,’ उनले आक्रोशित हुँदै भने, ‘अर्थमन्त्रीलाई हामीप्रति नकरात्मक बनाउने पनि उनै खरेलजी हुन् ।’

दबाब समुहले प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको मागपत्र

शनिबार प्रधानमन्त्री भेट्न नपाएर आक्रोशित भएका लगानीकर्ताहरुले आइताबर बिहानै नियामक धितोपत्र बोर्डमा तालाबन्दी गरे । दिउँसो १ बजे प्रहरीले ताला फोडेर स्थिति नियन्त्रणमा लिइसकेको छ ।


पुष्प दुलाल